Skip This
तोकिएभन्दा बढी लिएको भाडा यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Saturday, 27 July, 2024
२o८o असोज २९ सोमबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तोकिएभन्दा बढी लिएको भाडा यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १o:४७:oo

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चाडपर्वलक्षित सवारी जाँच विशेष अभियान सुरु गरेको छ । दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सुरु गरेको सवारी जाँच विशेष अभियानको दोस्रो दिनमै चारवटा यात्रुवाहक सुमो कारबाहीमा परेका छन् । 

सुमोचालकले तोकिएको भाडादरभन्दा झन्डै दोब्बर बढी असुली गरेको पाइएपछि कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिए । ‘जिल्ला भाडादर निर्धारण समितिले सुमोका लागि दिक्तेल–काठमाडौं तथा काठमाडौं–दिक्तेलको एकतर्फी भाडा दुई हजार १० रुपैयाँ कायम गरेको छ । सुमोचालक तथा सञ्चालकले विभिन्न बहानामा यात्रुबाट दुई हजार दुई सयदेखि तीन हजार पाँच सय रुपैयाँसम्म भाडा लिएको पाइयो,’ उनले भने, ‘चाडपर्वलक्षित विशेष सवारी जाँच अभियानमा तोकिएभन्दा बढी लिएको भाडाबापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता गराउन थालेका छौँ । अभियान सुरु गरेको दोस्रो दिनमै चारवटा सुमोलाई तीन–तीन हजार जरिवानाबापतको रकम तिराएर छाडिएको छ ।’

ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना.१ज ३३९३, ना.१ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना.१ज ५६५९ नम्बरको यात्रुवाहक सुमो कारबाहीमा परेको हो । ना.१ज ५६५९ नम्बरको सुमोले तीन हजार पाँच सय रुपैयाँसम्म भाडा असुल गरेको पाइएको ट्राफिक प्रहरी प्रमुख पौडेलले जानकारी दिए । 

सुमोचालकले आफूहरूबाट तोकिएभन्दा बढी भाडा लिए पनि टिकट भने नदिएको कारबाहीमा परेका सुमो चढेर आएका यात्रुहरूले बताएका छन् । ‘हामीले तोकिएभन्दा बढी रकम तिनुपर्छ भने टिकट दिनुस् भन्यौँ । उल्टै बाटोमा प्रहरीले सोधेमा रिजर्भमा आएको भन्न लगायो । वर्ष दिनमा आउने चाड मान्न जसरी पनि आफ्नो घर जानुपर्ने अवस्था छ,’ नाम नभन्ने सर्तमा एक यात्रुले भने, ‘चाडपर्वको अवसर पारेर वर्ष दिनपछि बल्ल आफ्नो घर जान पाइन्छ । छुट्टी लामो हुँदैन ।

भाडाको विषयमा बार्गेनिङ गर्न थाल्यो भने अर्को मान्छे चढाएर पठाउँछ । बसौँ भने होटेलमा एक रातको दुई–तीन हजारभन्दा बढी उठ्छ । होटेलमा तिर्नुभन्दा एक दिन भए पनि अगाडि नै घर पुगिन्छ भन्ने सोचेर बढी नै भए पनि भाडा तिरेर आएका थियौँ । दिक्तेल आइपुगेपछि तोकिएभन्दा बढी लिएको रकम ट्राफिक प्रहरीले फिर्ता गराइदिएको छ ।’
खोटाङमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने करिब एक सय ५० वटा सुमो रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा बाहिर सञ्चालन हुने सुमोले सबैभन्दा बढी मनपरी भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन् । 

चाडपर्वको बहानामा सवारीचालकले यात्रुबाट बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अभद्र व्यवहार गर्ने भएकाले नियन्त्रण गर्न जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । ‘यात्रुको सहज यात्राका लागि सुरक्षा निकायका तर्फबाट भरपुर सहयोग उपलब्ध गराउने प्रयत्न गरिरहेका छौँ । यातायात व्यवसायीले पुरानै भाडादर कायम गर्ने प्रतिबद्धता जनाएका छन्,’ उनले भने, ‘आफ्नो प्रतिबद्धताविपरीत काम गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही हुन्छ । यसका लागि जिल्ला प्रहरी कार्यालय खोटाङको १०० नम्बरको हटलाइन सेवा चौबिसै घन्टा सञ्चालन गरेका छौँ ।’