Skip This
एक करोडको चिस्यान केन्द्र डुंगाजस्तै तैरिन थालेपछि ! 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Saturday, 27 July, 2024
२o८o असोज २४ बुधबार १२:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एक करोडको चिस्यान केन्द्र डुंगाजस्तै तैरिन थालेपछि ! 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार १२:२८:oo

दाङको दंगीशरण गाउँपालिकाले निर्माण गरेको चिस्यान केन्द्र पानीमाथि तैरिन्छ। निर्माण पूरा भएको एक वर्षमै पानीमाथि तैरिन थालेपछि त्यो चिस्यान केन्द्र प्रयोगमा आएको छैन। जमिनमुनिको पानीले चिस्यान केन्द्रलाई नै माथि धकलेका कारण बेसभन्दा तीन फिटमाथि उठेको छ। 

करिब १० फिट गहिरो खन्दा पानी आउने ठाउँमा चिस्यान केन्द्र बनाएकै कारण पानीमाथि तैरिरहेको स्थानीय बताएका छन्। ‘यो ठाउँमा खन्दा १० फिट खन्दा पानी आउँथ्यो, बनाउदाखेरि नै ख्याल गर्नुपर्ने हो,’ दंगीशरण– ४ निवासी थम्मनबहादुर रेउलेले भने, ‘केही पनि ख्याल नगरी भवन बनाउँदा अहिले यस्तो समस्या आयो।’ 

उक्त चिस्यान केन्द्रको जग निर्माण गर्दा नै त्यसरी पानीमा तैरिने गरेको थियो। त्यो देखेपछि स्थानीयले काम अघि नबढाउन पनि भनेका थिए। तर, काम अगाडि बढिसकेकाले रोक्न नमिल्ने भन्दै काम नरोकेपछि अहिले त्यो चिस्यान केन्द्र डुंगाजस्तै तैरिने हालतमा पुगेको हो। 

प्राविधिकले कुनै ख्याल नगरी कराेडौँ लगानी गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। ‘कराेडौँ लगानी गर्दा प्राविधिकले ख्याल गर्नुपर्ने हो,’ रेउलेले भने, ‘यसले हामीलाई निकै असर गर्‍याे।’ 

दंगीशरण कृषि उत्पादनका हिसाबले उत्तम ठाउँ भएकाले चिस्यान केन्द्र अनिवार्यजस्तै थियो। निर्माण हुन थालेपछि आफूहरू खुसी भए पनि त्यसको हालत बिग्रिएपछि आफूहरू दुःखी भएको रेउलेको भनाइ छ। पालिकाले संघीय सरकारको अनुदानमा उक्त चिस्यान केन्द्र निर्माण गरेको हो।

स्थानीय तहमा पहिलोपटक जनप्रतिनिधि आएपछि त्यसको स्टिमेट गरिएको र तत्कालीन अवस्थामा दक्ष जनशक्ति नभएकाले पनि यस्तो समस्या आएको हुन सक्ने पालिकाका इन्जिनियर प्रमोद गौतमले बताए।

‘तत्कालीन अवस्थामा करारमा इन्जिनियर राखिएको रहेछ, उहाँ अहिले विदेश गइसक्नुभएको रहेछ,’ उनले भने, ‘त्यतिवेला कसरी स्टिमेट गरिएको रहेछ भन्ने कुरा हामी बुझ्दै छौँ।’ 

प्राकृतिक कारण यस्तो समस्या आएको र यो नयाँ समस्या भएकाले आफूहरू पनि अभ्यासमै रहेको  इन्जिनियर गौतमको भनाइ थियो।  १० फिट गहिरो जग खनेकै कारण त्यहाँ पानी माथि आएको हुन सक्ने उनले बताए। 

स्वाइल टेस्ट गरिएको भए पनि पानी माथि आउने कुराका लागि बाह्रै महिना परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ। ‘स्वाइल टेस्ट गर्दा माटोको अवस्था मात्रै जानकारी हुन्छ,’ उनले भने, ‘यदि पानीको अवस्था थाहा पाउने हो भने बाह्रै महिना परीक्षण गर्नुपर्छ।’

उनका अनुसार त्यही संरचनालाई पुनः मर्मत गरेर प्रयोग गर्ने तयारीसमेत छ। मर्मतका लागि ठेकेदारले पनि सकारात्मक कुरा गरेको उनको भनाइ छ। 

पूरै ढलान बाकसजस्तो भएकाले पनि मर्मत गरेर पुनः प्रयोग गर्न सकिने उनले बताए। ०७६ सालदेखि सुरु भएको उक्त चिस्यान केन्द्रको गएको वर्ष भदौमा निर्माण पूरा गरिएको हो। घोराहीको लोकमणि बिल्डर्स प्रालिले निर्माणको जिम्मा लिएको थियो।