१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असोज २२ सोमबार १७:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हार्वर्डका प्राध्यापक क्लाउडियालाई

Read Time : < 1 मिनेट
२०८० असोज २२ सोमबार १७:०९:००

महिलाको श्रमबजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

स्विडेनको स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन्।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘श्रमबजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि महत्त्वपूर्ण छ। क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तर्निहित कारकहरूको बारेमा धेरै बुझ्न सक्नेछौँ। यसले भविष्यमा हुने महिला श्रम कठिनाइलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ।’ 

‘क्लाउडिया गोल्डेनको खोजले महिला श्रम बजारमा व्यापक सामाजिक प्रभाव पार्छ,’ पुरस्कार समितिका सदस्य र्‍यान्डी हजलमार्सनले भने, ‘अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर, हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौँ।’

यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ। सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगतमा ‘बैंक अफ स्विडेन पुरस्कार’को रूपमा चिनिन्छ।

सन् २००७/०८ को वित्तीय संकटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए।