१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १५ बिहीबार २१:२६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन काठमाडौंमा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १५ बिहीबार २१:२६:००

पाटन मल्टिपलको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ। ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फर्स्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, ०२४ (एफआइसिई २०२४) शुक्रबारसम्म चल्नेछ।

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ। 

अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासनजस्ता नयाँ विषय जोडिएको छ। विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताए।

सम्मेलनको मुख्य विषय ‘न्यू इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ। जुन विषयवस्तुमा तयार कुल ३८ रिसर्च पेपर ११ प्राविधिक सत्रमा प्रस्तुत हुँदै छन्। पहिलो दिन ६ सत्र सम्पन्न हुनेछ। 

सम्मेलनमा दुई विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित एक प्यानल छलफल हुँदै छ। सम्मेलनमा कुल एक सय ५० जनाको सहभागिता रहनेछ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताए। 

‘विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ,’ विष्टले भने।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आंगिक-सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ।

सम्मेलन उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. भार्गव धिताल, मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन डा. कुसुम शाक्य तथा पाटन मल्टिपल क्याम्पस प्रमुख डा. लक्ष्मणसिंह कुँवरको उपस्थिति थियो। 

उनीहरूले सम्मेलनको लक्ष्य हासिल हुने शुभकामना व्यक्त गरे। रेक्टर धितालले आर्थिक सुस्तता, तरलता समस्या तथा आन्तरिक उत्पादनमा गिरावटजस्ता चुनौती सम्बोधन गर्न यस्तो सम्मेलन आवश्यक रहेको बताए।

डिन शाक्यले नेपालको वर्तमान आर्थिक परिदृश्यमाथि चर्चा गर्दै अर्थतन्त्रको गतिशीलता बुझेर अतिकम विकसित मुलुकबाट विकासशील तथा मध्यम आय भएको मुलुक बन्दाखेरीको संक्रमणकालीन स्थितिलाई सम्बोधन गर्ने उपाय खोजिनुपर्ने चर्चा गरिन्। 

क्याम्पस प्रमुख कुँवरले भूरानीतिक सन्तुलनमार्फत आर्थिक वृद्धि हासिल गर्दाका जटिलता केलाउनुपर्ने आवश्यकता औँल्याए। प्रमुख कुँवरले भने, ‘एमसिसी र बिआरआई कार्यान्वयन गर्दा संयमता अपनाई सन्तुलित आर्थिक वृद्धिको नीति अंगिकार गर्नुपर्छ।’