१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०८० असोज २३ मंगलबार १०:०६:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी प्राध्यापक गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०८० असोज २३ मंगलबार १०:०६:००

अमेरिकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे महत्वपूर्ण खोज गरेकाले उनलाई सो पुरस्कार दिने घोषणा गरिएको नोबेल कमिटीले जनाएको छ । गोल्डिनले हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन् । 

उनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छिन् । उनको अनुसन्धानले परिवर्तनका कारण तथा लैंगिक असमानताको मुख्य स्रोत पत्ता लगाएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘श्रमबजारमा महिलाको भूमिका बुझ्नु समाजका लागि महत्वपूर्ण छ । क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तर्निहित कारकबारे धेरै बुझ्न सक्नेछौँ । यसले भविष्यमा हुने महिला श्रम कठिनाइलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ ।’ 

‘क्लाउडिया गोल्डेनको खोजले महिला श्रमबजारमा व्यापक सामाजिक प्रभाव पार्छ’ पुरस्कार समितिका सदस्य ¥यान्डी हजलमार्सनले भने, ‘अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौँ ।’

स्विडेनको स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार पुरस्कार प्राप्त गरेपछि ७७ वर्षीय गोल्डिन आश्चर्यचकित बनेका थिए । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगत्मा ‘बैंक अफ स्विडेन पुरस्कार’को रूपमा चिनिन्छ । सन् ००७/०८ को वित्तीय संकटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए । 

यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ । विजेतालाई आगामी १० डिसेम्बरमा एक विशेष कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ ।