१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असोज १५ सोमबार ११:०९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नियमित दाँत माझ्दा घट्न सक्छ डिमेन्सियाको जोखिम

Read Time : < 1 मिनेट
२०८० असोज १५ सोमबार ११:०९:००

नियमित दाँत माझ्ने र समय–समयमा दन्तचिकित्सकलाई चेकजाँच गराउने बानीले डिमेन्सिया विकास हुनबाट रोक्न सघाउने एक अध्ययनले जनाएको छ । अनुसन्धानकर्ताहरूले ६७ वर्षमाथिका व्यक्तिहरूमा यो अध्ययन गरेका थिए । जसअनुसार धेरै स्वस्थ दाँत हुनेको मस्तिष्क पनि स्वस्थ देखियो । 

जापानस्थित टोहोखु युनिभर्सिटी अफ ग्राजुएट स्कुल अफ डेन्टिस्ट्रीले गरेको अध्ययनले गिजा र दाँत अस्वस्थ भएकाको देब्रे हिप्पोक्याम्पसमा (सिक्ने र सम्झने सामथ्र्यसँग सम्बन्धित मस्तिष्कको हिस्सा) तीव्र रूपमा कमी आइरहेको देखायो । ‘दाँत र यसआपसपासका हिस्सामा कीटाणु नभएको अर्थात् दाँत स्वस्थ भएको अवस्थाले हाम्रो मस्तिष्कको सुरक्षा गर्न सघाउ गर्छ ।

त्यसैले स्वस्थ राखेर धेरैभन्दा धेरै दाँत जोगाउन जरुरी छ । तर, दाँत धेरै भए पनि ती अस्वस्थ छन् भने उल्टै मस्तिष्कका लागि हानिकारक हुन सक्छ,’ अध्ययनमा सहभागी चिकित्सक डा. सातोसी यामागुचीले भने, ‘थोरै दाँत हुँदा चपाउने क्षमता कम हुन्छ । यसले पनि मस्तिष्कको क्षमतामा असर गर्छ ।’

उनले भने, ‘त्यही कारण धेरै दाँत जोगाउन जरुरी छ । तर, यसलाई स्वस्थ राख्न पनि उत्तिकै महŒवपूर्ण छ । पेरिडोन्टल रोगहरू नियन्त्रण गर्नका लागि नियमित रूपमा डेन्टिस्टलाई देखाउनुपर्छ । धेरै किरा लागिसकेका दाँतलाई हटाएर उचित रूपमा कृत्रिम दाँत हाल्नुपर्ने हुन सक्छ ।’

अल्जाइमर्स एसोसिएसनअन्तर्गत साइन्टिफिक इन्गेजमेन्टका निर्देशक पर्सी ग्रिफिनले पनि यस खोजबारे रिभ्यु गरेका थिए । युएस न्युजसँग उनले भनेका छन्, ‘दन्तचिकित्सा र अनुभूतिको सम्बन्धलाई यस अनुसन्धानले थप उजागर गरेको छ । विगतमा पनि हामीले मानिसको अनुभूत गर्ने क्षमतामा ह्रास र पेरिडोन्टल रोगको सम्बन्ध स्थापित गर्ने केही डाटा देखेका थियौँ । तर, यो अनुसन्धानले दाँतको संख्यालाई तोकेर अध्ययन गरेको छ ।’