प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी, नेपालबाट २९ खेलमा भाग लिन २५३ खेलाडी
१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङचाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी जिनपिङले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत एसियाली ओलम्पिक परिषद्का पदाधिकारी, एसियाका विभिन्न सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहेको थियो ।
२०१५ सेप्टेम्बर १६ मा जकार्तामा एसियाड सम्पन्न भएसँगै चीन एसियाली खेलकुद आयोजनाका लागि छनोट भएको थियो । प्रतियोगिता शनिबारबाट औपचारिक सुरु भएर ८ अक्टोबरसम्म जारी रहनेछ । प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् । नेपालबाट २९ खेलमा भाग लिन दुई सय ५३ खेलाडी सहभागी हुनेछन् । केही खेलका खेलाडी भने घर फर्किसकेका छन् । उद्घाटन समारोहको मार्चपासमा दौरा–सुरुवाल, भादगाउँले टोपी र साडीचोलोमा सजिएर नेपाली टोलीले आकर्षक प्रस्तुति गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ तथा नेपाली टोलीका सेभ द मिसनको नेतृत्वमा नेपाली टोली मार्चपासमा सहभागी भएको हो । मार्चपासमा उसुकी निमा घर्तीमगर र तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोकेका थ्एि । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए ।
सन् २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको प्रतियोगिता कोभिड–१९ ले गर्दा एक वर्ष धकेलिएको थियो । चीनले आयोजना गरेको यो तेस्रो एसियाड हो ।
टेबलटेनिसमा नेपाल बाहिरियो
महिला र पुरुष टेबलटेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको छ । शनिबार समूह चरणको दोस्रो खेलमा महिला टोली भारतसँग र पुरुष टोली उत्तर कोरियासँग समान ३–० ले पराजित भएका हुन् । महिलातर्फ पहिलो खेलमा सिक्क सुवाल दिया पराग चितालेसँग ११–१, ११–६ र ११–८ ले पराजित भएकी हुन् । नविता श्रेष्ठ यहिका मुखर्जीसँग ११–३, ११–७, र ११–२ ले हार बेहोर्न पुगिन् । तेस्रो खेलमा इभान थापामगर सुतिर्था मुखर्जीसँग ११–१, ११–५ र ११–२ ले पराजित भइन् । यसअघि नेपाली टोली सिंगापुरसँग ३–० ले पराजित भएको थियो ।
पुरुषतर्फ समूह बीको नेपाल कोरियासँग सहजै पराजित भयो । नेपालका संयोग कपाली हाम युसोङसँग ११–७, ११–४ र ११–५ ले पराजित भए । रुविन महर्जन जिसोङ आङसँग ११–२, ११–६ र ११–२ ले पराजित भएका हुन् । विलोश श्रेष्ठ जोङसिक रीसँग ११–८, ११–२ र ११–३ ले परातिज भए । यसअघि नेपाल जापानसँग पराजित भएको थियो ।
सरु घाइते
भियतनामविरुद्ध २–० ले पराजित हुँदा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बू घाइते भएकी छिन् । पहिलो हाफमा मैदानमा लडेकी सरुलाई प्राथमिक उपचार गरिएको थियो । उनको स्थानमा प्रीति राई मैदान प्रवेश गरेकी थिइन् । घुँडाको चोटपछि सरुले जापान र बंगलादेशसँगको खेल गुमाउनेछिन् । घुँडाको चोटकै कारण उनी कम्तीमा पनि तीन–चार महिना मैदानबाहिर हुन सक्ने अनुमान गरिएको छ । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड उद्घाटन सत्रमा उपस्थित
चीनमा औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन सत्रमा उपस्थित भए । पूर्वनिर्धारित तालिकाअनुसार नै प्रधानमन्त्री प्रचण्डले मैदान पुगेर नेपाली टोलीको हौसला बढाए ।