Skip This
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ६ शनिबार
  • Saturday, 27 July, 2024
एक्सरे हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अड्किएका युरोप, अमेरिका र जापान निर्यातका लागि पुर्‍याइएका वस्तुहरू
कृष्ण रिजाल काठमाडाैं
२o८o असोज ६ शनिबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ६ शनिबार o६:o७:oo

एउटा एक्सरे बिग्रिएको डेढ महिनासम्म मर्मत गरिएन, अर्को एक्सरे पनि शुक्रबार बिग्रिएपछि रोकियो निर्यात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निकासीतर्फको गोदाममा रहेको एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकिएको छ । विमानस्थलमा रहेका दुई एक्सरेमध्ये एउटा दुई महिनाअघि नै बिग्रिए पनि मर्मत गरिएको थिएन । सञ्चालनमा रहेको अर्को मेसिन पनि शुक्रबार बिग्रिएपछि भन्सार जाँचपास र निर्यात रोकिएको हो । 

निर्यात हुने सामग्रीको एक्सरे नभई भन्सार जाँचपास हुँदैन । भन्सार जाँचपास नभई निर्यात हुँदैन । एक्सरे मेसिन नै बिग्रिएपछि निर्यातका सम्पूर्ण प्रक्रिया नै रोकिन पुगेको हो । 

प्रेमराज भण्डारी, महाप्रबन्धक, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी
एउटा एक्सरे मेसिन एक–डेढ महिनादेखि बिग्रिएर बसेको छ, अर्को शुक्रबार साँझ ६ बजेतिर बिग्रिएछ । प्राविधिकहरूले शनिबार नै मर्मत गरिदिने बताएका छन्, आज साँझ बिग्रिएकाले धेरै सामान अड्किएका छैनन् ।

शुक्रबार निर्यात हुने करिब एक लाख डलरबराबरका १० टन सामग्री रोकिन पुगेको नेपाल फ्रेट फरवार्डस् एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले जानकारी दिए । ‘एक्सरे नगरी कुनै पनि हवाईजहाजले सामग्री ढुवानी गर्दैनन्, यो अन्तर्राष्ट्रिय उडान मापदण्डअन्तर्गत नै पर्दछ,’ उनले भने, ‘बिग्रिएको एक्सरे समयमै मर्मत नगर्दा र भएको एक्सरेसमेत बिग्रिँदा निर्यात ठप्प भएको छ ।’ यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जतीसमेत भएको उनको भनाइ छ । 

शुक्रबार जापान उड्ने नेपाल एयरलाइन्स र कतार उड्ने कतार एयरलाइन्सले लाने निर्यातका वस्तु नेपालमै अड्किएको फ्रेट फरवार्डस् एसोसिएसनले जनाएको छ । त्यस्तै, शनिबार उड्ने विमानबाट समेत निर्यात हुने छैन । शनिबार बेलुकीसम्म एक्सरे नबने निर्यातमा झन् समस्या आउने वरिष्ठ उपाध्यक्ष संग्रौलाले बताए । 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका महाप्रबन्धक प्रेम भण्डारीले त्रिभुवन विमानस्थलको निकासीतर्फको गोदाममा रहेको एक्सरे मेसिन बिग्रिएर भन्सार जाँचपास र निर्यात प्रभावित भएको स्विकारे । ‘एउटा एक्सरे मेसिन एक–डेढ महिनादेखि बिग्रिएर बसेको छ, अर्को शुक्रबार साँझ ६ बजेतिर बिग्रिएछ,’ उनले भने, ‘प्राविधिकहरूले शनिबार नै मर्मत गरिदिने बताएका छन्, आज साँझ बिग्रिएकाले धेरै सामान अड्एिका छैनन् ।’ 

एउटा मेसिनका कारण निर्यात नै प्रभावित हुनु उचित नभएको उनले बताए । ‘पारवहन तथा गोदाम व्यवस्था कम्पनीको काम भनेको अपरेट (सञ्चालन) गर्ने मात्रै हो, मेसिनरीहरू उपलब्ध गराउने काम नागरिक उड्डयन प्राधिकरणको हो,’ उनले भने, ‘उहाँहरूले नयाँ मेसिन ल्याउने भनेर लामो समयदेखि भनिरहनुभएको छ, तर आएको छैन ।’ 

नेपालको कुल निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको हिस्सा २२.६२ प्रतिशत रहेको छ । अर्थात्, एकचौथाइ निर्यात त्रिभुवन विमानस्थलबाटै हुन्छ । गएको आर्थिक वर्ष ०७९/८० मा यस भन्सारबाट ३५ अर्ब ५४ करोड रुपैयाँबराबरका वस्तु निर्यात भएका थिए । तर, धेरै निर्यात हुने ठाउँमा सरकारले आवश्यक मात्रामा एक्सरे राखेको छैन । त्यहाँ कम्तीमा चारवटा एक्सरे मेसिन चाहिने व्यवसायीहरू बताउँछन् । 

निर्यातका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वस्तु पुगेपछि सबैभन्दा पहिला भन्सार प्रज्ञापनपत्र भरिन्छ । त्यसपछि भन्सार कार्यालयले ती वस्तुको भौतिक जाँच गर्छ । भौतिक जाँचपास भएपछि एक्सरेमा राखिन्छ । एक्सरेलाई प्रहरीले सञ्चालन तथा निरीक्षण गर्दछ । एक्सरेबाट पास भएपछि मात्रै भन्सार जाँचपास हुन्छ । भन्सार जाँचपास भएपछि वस्तु गोदाममा लगिन्छ । गोदामबाट सम्बन्धित एयरलाइन्सले वस्तु लग्छन् र गन्तव्यमा पु¥याउँछन् । एक्सरे नै बिग्रिएपछि अहिले भन्सार जाँचपास नै रोकिएको छ ।