
यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि उडान सुरु गरेको छ । यतीले आइतबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्रि उडान सुरु गरेको हो ।
काठमाडौंबाट साँझ ५:३० बजे उडान नं एनवाइटी ६८३ बाट पोखराका लागि उडेको विमान पोखरामा अवतरणपछि साँझ ६: २० बजे उडान नं एनवाइटी ६८४ मार्फत काठमाडाैंका लागि उडान गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पाँचवटा एटिआर ७२ जहाज रहेको यतीले हाल पोखरामा दैनिक ६ उडान गरिरहेको छ । रात्रि उडान गर्ने यात्रुको संख्या बढ्दै गएमा उडान संख्यासमेत बढाउँदै लैजाने उनले बताएका छ ।
१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागनुमा इन्स्टु«मेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको थियो ।