१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असोज २ मंगलबार o९:oo:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धादिङका अधिकांश वधशाला मापदण्डविपरीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार o९:oo:oo

अनुगमनमा पुगेका प्राविधिक भन्छन्– वधशालामा काटिए पनि मासु खानयोग्य छैन

धादिङका वधशाला मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । त्यहाँ काटिएका मासु खानयोग्य नरहेको सरकारी अनुगमन टोलीको भनाइ छ । ‘धादिङबेँसी र आसपासका वधशालामा काटिएका मासु ढुक्कले खान मिल्छ भन्न सकिँदैन,’ नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा पुगेका जिल्ला भेटेरेनरी अस्पतालका पशुविज्ञ डा. सन्दीप सिलवालले भने, ‘पशु वधशाला तथा वधस्थल सञ्चालन मापदण्डअनुसार मासु काट्दा माक्स, एप्रोन, पन्जा, गमबुट अनिवार्य लगाउनुपर्छ । मासु काट्दा लगाउने र बाहिर लगाउने कपडा छुट्टै हुनुपर्छ । तर, यी सामान्य मापदण्ड पनि लागू गरिएका छैन ।’

सफा र स्वच्छ पानीले मासु धुनुपर्ने भए पनि खोलाको धमिलो पानी तानेरै धुने गरेको भेटिएको छ । यस्तै, मासु राखिएका स्टोर पनि सफा नपाइएको अनुगमन टोलीको भनाइ छ । नीलकण्ठ नगरपालिका–८ को कमेरेमा रहेको नमल फ्रेस हाउस र नीलकण्ठकै वडा नम्बर १२ मा रहेको लापाली मासु पसलको बिहीबार विज्ञसहितको टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो । नीलकण्ठ नगरपालिकाका उपमेयर एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दीपक विश्वकर्माले कमेरेको नमल फ्रेस हाउसवरिपरि पशु काटेर थुपारिएका कुहिएका छाला र हड्डीले दुर्गन्धित पाइएको जानकारी दिए । वधशालामा हुनुपर्ने न्यूनतम मापदण्ड नै लागू नगरेको भेटिएको उनले बताए ।

पशुवध गर्नुअघि बेहोस बनाउने र मार्नका लागि प्रयोग गर्ने उपकरण वधशालामा छैन । टाउकोमा घनले हानेर मार्ने पुरानै तरिका अपनाउने गरेको अनुगमन टोलीले भेटेको छ । मासु खानयोग्य हुन्छ कि हुँदैन भनेर काट्नुअघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने मापदण्ड छ । काटिसकेपछि त्यो मासु खानयोग्य छ कि छैन भन्ने पनि परीक्षण गर्नुपर्ने हुन्छ । तर, दुवै वधशालामा पशु र मासु परीक्षण गर्ने मान्छे र उपकरण नै छैन ।

वधशालाले लापरबाही तरिकाले काटिरहेको मासु ल्याएर पसलेहरूले बेच्ने गरेको नीलकण्ठ नगरपालिका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले बताए । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, नगरपालिका, भेटेरेनरी अस्पताललगायतले वधशालालाई पटक–पटक सुधार गर्न निर्देशन दिने गरेका छन् । यद्यपि, विभिन्न बहाना बनाउँदै सञ्चालकहरूले वर्षाैँदेखि आलटाल गरिरहेका छन् । यसपटक पनि अनुगमन टोलीले सरसफाइमा ध्यान दिन र भौतिक संरचनाका कुरा एक साताभित्र सुधार गरेर मापदण्डको दायरामा ल्याउन निर्देशन दिएको छ । 

अनुगमन टोलीले यसअघि मासु पसलहरूको पनि अनुगमन गरेको थियो । त्यसक्रममा धादिङबेँसीका अधिकांश मासु पसलहरू पनि मापदण्डविपरीत नै भेटिएका थिए । ५७ वटा मासु पसल अनुगमन गर्दा दुई–तीनवटामा मात्रै पूर्ण रूपमा मापदण्ड लागू भएको पाइएको नीलकण्ठ नगरपालिका पशु सेवा शाखाका प्राविधिक राजेश कोइरालाले जानकारी दिए ।