मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरभित्र शिक्षकले मासिक तलब पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २ मंगलबार ०७:४९:००

यसअघि त्रैमासिक रूपमा शिक्षकलाई तलब दिँदै आएको काठमाडौं महानगरपालिकाले महिना बित्नेबित्तिकै शिक्षकको खातामा तलब पठाउन थालेको छ । शिक्षकलाई समयमै तलब सुविधा नदिँदा त्यसको असर पठनपाठनमा पर्ने भन्दै महानगरपालिकाले गएको साउनदेखि मासिक रूपमा तलब दिन सुरु गरेको हो । 

शिक्षकलाई दिने तलब केन्द्र सरकारबाट आउँछ । केन्द्र सरकारले त्रैमासिक रूपमा तलब दिने गरेको छ । महानगरले आफ्नै बजेटबाट समयमै तलब पठाउने व्यवस्था मिलाएको हो । महानगरपालिकाभित्र हाल ८९ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरूमा कर्मचारी र शिक्षक गरी दुुई हजार दुईजना शिक्षक कार्यरत छन् । उनीहरूलाई मासिक रूपमा तलब दिँदा १० करोड रुपैयाँ खर्च हुन्छ ।

‘यसअघि शिक्षाको तलब नियमित थिएन, त्रैमासिक थियो, निकै ढिलो गरे उनीहरूको खातामा तलब जाने गरेको थियो, तर अब हामीले मासिक रूपमै दिन थालेका छौँ,’ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी भने, ‘यसो गर्दा उहाँहरूको खर्च व्यवस्थापनमा सहजता हुन्छ र कार्यसम्पादन पनि राम्रो हुन्छ ।’ उनका अनुसार महानगरसँग भएको रकमले शिक्षकलाई मासिक रूपमै तलब दिने र पछि केन्द्र सरकारबाट आएको बजेटबाट यसलाई मिलान गरिनेछ । 

समयमै तलब नआएको भन्दै महानगरअन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षकले महानगरसँग गुनासोसमेत गर्दै आइरहेका थिए । उनीहरूले समयमै तलब सुविधा पाउनुपर्ने भन्दै महानगरमा निवेदनसमेत दिएका थिए ।