हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी काठमाडौंमा अहिले आंशिक बदली रहेको र दिउँसोतिर वर्षा हुने सम्भावन रहेको मौसमविद् गंगा नगरकोटीकाे भनाइ छ । उनका अनुसार रातको समयमा पनि काठमाडौं वर्षा हुनेछ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।