१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

२७ भदौदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइँदै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३६:oo

पहिलो चरणमा १४ वर्ष उमेर समूहका नौ हजार पाँच सय बालिकालाई लगाइने

लामो प्रक्रियापछि चीनबाट ल्याएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २७ भदौदेखि लगाइने भएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट ‘डेमो’का रूपमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो । 

प्रसूति अस्पतालमा बागमती प्रदेशभित्रका सीमित बालिकालाई खोप दिइनेछ । पहिलो चरणमा ल्याइएको २० हजार डोज खोप बालिकालाई परिचयपत्रका आधारमा दिन लागिएको हो । तर, दोस्रो चरणमा गाभी कम्पनीको खोप ल्याउने प्रक्रिया अघि बढेकाले १० देखि १४ वर्षसम्मका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

डा. विवेककुमार लाल, प्रमुख, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा
सीमित खोप मात्रै आएको छ, त्यसैले यसलाई समानुपातिक ढंगले प्रदान गर्न लागेका छौँ । यो खोप सातै प्रदेशका प्रादेशिक तथा संघीय अस्पतालबाट लगाइन्छ । जो सुरुमा लाइन लाग्न आउँछ उसैले खोप लगाउन पाउँछ, यसमा विभेद हुँदैन ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले परोपकार अस्पतालबाट खोप कार्यक्रमको उद्घाटन गरेपछि बागमती प्रदेशका सीमित बालिकालाई यो खोप लगाइनेछ । तर, सबैतिर बाँड्दा खोप निकै कमले मात्रै पाउनेछन् । पहिलो चरणमा निकै कम खोप आएकाले सीमित संख्यालाई मात्रै खोप दिन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । उनका अनुसार २० हजार डोज खोप करिब साढे नौ हजार बालिकालाई दिइनेछ । यो खोपको पहिलो र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । पहिलो मात्रा लगाएको ६ महिनापछि मात्रै दोस्रो मात्रा लगाइनेछ । त्यही २० हजारमध्येकै खोपलाई आधा–आधा गरेर दुवै मात्रा दिइनेछ । 

‘सीमित खोप मात्रै आएको छ, त्यसैले यसलाई समानुपातिक ढंगले प्रदान गर्न लागेका छौँ,’ महाशाखा प्रमुख डा. लालले भने, ‘यो खोप सातै प्रदेशका प्रादेशिक तथा संघीय अस्पतालबाट लगाइन्छ । जो सुरुमा लाइनमा आउँछ उसैले खोप लगाउन पाउँछ, यसमा विभेद हुँदैन ।’ उनका अनुसार नौ हजार पाँच सयजनामा लगाइने खोप सातै प्रदेशलाई भाग लगाइएको छ । तर, सातै प्रदेशमा खोप पठाए पनि त्यहाँका थोरै बालिकाले मात्रै यो खोप प्राप्त गर्न सक्नेछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर र डडेल्धुरा अस्पतालमा यो खोप लगाइनेछ । 

काठमाडौंमा २७ भदौमा यो खोप लगाउने मिति तोकिए पनि अन्य ठाउँको मिति भने तोकिएको छैन । तर, उद्घाटन भएको केही दिनमै प्रदेशहरूमा खोप कार्यक्रम सुरु हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । हाल १४ वर्ष उमेर समूहका मात्रैलाई खोप दिने हो भने पनि तीन लाख ५० हजार डोज खोप चाहिन्छ । तर, कम्पनीले यो खोप सीमित उत्पादन गर्ने र यसको विश्वभरि नै माग भएकाले थप खोप ल्याउन समय लाग्ने विभागले जनाएको छ । एक वर्षभित्र भने १० वर्षदेखि ३० वर्षसम्मकालाई खोप दिने लक्ष्य राखिएको छ । 

सबै लक्षित वर्गमा यो खोप कार्यक्रम सञ्चालन गर्न सस्तो खोप ल्याउँदा पनि एक अर्ब ७७ करोड बजेट चाहिने विभागको अनुमान छ । तर, चालू आर्थिक वर्षमा सरकारले खोप किन्न पर्याप्त रकम विनियोजन नगरेको परिवार कल्याण महाशाखाले जनाएको छ । पाठेघरको क्यान्सरको सबैभन्दा मुख्य कारण एचपिभी भाइरस हो । अझ यो खोप यौन सम्बन्धमा आउनुपूर्व लगाउँदा प्रभावकारी हुने भएकाले पहिलो चरणमा १४ वर्षकै बालिकालाई लक्षित गरिएको महाशाखाका प्रमुख डा. लालको भनाइ छ । समयमै खोप लगाउँदा संक्रमणविरुद्धको एन्टिबडी बनिसक्ने भएकाले पाठेघरमा क्यान्सर हुने अवस्था नदेखिने उनको भनाइ छ । 

हाल नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको पाइन्छ । सरकारले ३० वर्ष पुगेका महिलालाई हरेक पाँच वर्षको अन्तरालमा पाठेघरको परीक्षण गराउन भन्दै सरकारी अस्पतालमा यसको चेकजाँच हुने व्यवस्था सुरु गरिसकेको छ ।

खोप लगाउन तोकिएका अस्पताल

  • प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
  • कोशी अस्पताल, विराटनगर
  • नारायणी अस्पताल, वीरगन्ज
  • गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
  • भेरी अस्पताल, नेपालगन्ज
  • कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर
  • डडेल्धुरा अस्पताल
ad
ad