मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
समाचार डिजिटल संस्करण

कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणबारे सांसदले मागे स्वास्थ्यमन्त्रीकाे जवाफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २१ बिहीबार १४:०६:००

कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार नपाएर बालिकाको मृत्यु भएको विषय संसदमा प्रवेश गरेको छ। बुधबारको नयाँ पत्रिका दैनिकमा ‘दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु’ शीर्षकमा सो समाचार प्रकाशित भएको थियो।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उक्त घटनाको छानबिन गरी सत्यतथ्य संसद्लाई जानकारी गराउन स्वास्थ्यमन्त्रीसँग माग गरेका छन्। बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद गगन थापाले अस्पतालमा अत्यावश्यक सेवाका लागि लाइन बस्नै नपर्ने नियम भए पनि नियम नभएको भनेर ढाकछोप गर्न खोजिएको बताए। 

‘हाम्रो आँखाअगाडि पाँच वर्षीया बालिका काठमाडौंको केन्द्रमा भएको बाल अस्पतालमा उपचार गर्ने सुविधा हुँदाहुँदै उपचार नपाएर छटपटाएर मर्नुपरेको घटना पढ्न–सुन्न बाध्य भएका छौँ हामी। यो घटनालाई पनि सामसुम नपारियोस्,’ सांसद थापाले भने।

त्यसैगरी, एमाले सचेतक महेश बर्तौलाले उक्त घटनाले सरकारी अस्पतालभित्रको चरम लापरबाही र बेथिति देखाएको भन्दै घटनाको विषयमा स्वास्थ्यमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने बताए।

‘यसले एकातिर अस्पतालभित्रको चरम लापरबाही, बेथिति देखाउँछ भने यो घटनाबारे त्यहाँको अस्पतालको निर्देशकले जिम्मा लिनुपर्छ कि पर्दैन ? त्यहाँको अस्पताल विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन ?’ उनले भने, ‘त्यति मात्रै होइन, स्वास्थ्यमन्त्रीज्यूले संसदमा आएर पहिले नै समय लिएर यो विषयमा बताउनुपर्थ्यो।’

बर्तौलाले सरकारले तत्काल पीडितले न्याय र परिवारले क्षतिपूर्ति पाउने सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले बिरामीको चापबमोजिम अस्पतालमा गुणस्तरीय सेवा दिन आवश्यक मानवीय संसाधनको आवश्यकताबारे ध्यान नदिएको भन्दै सरकारको आलोचना गरिन्।

‘एउटा आमाको कोख हेर्दाहेर्दै रित्तिएको छ। परदेशमा पसिना बगाउँदै गरेको एउटा बाबुको सपना चकनाचुर भएको छ। योभन्दा लज्जास्पद कुरा के हुन सक्छ हाम्रो लागि सभामुख महोदय ? यो सरकारलाई कुनै लाज, शरम, डर, चिन्ता छ कि छैन ?’ उनले भनिन्।

२३ वर्ष पुरानो दरबन्दीबाट अस्पताल चलाएर सरकार सुतेर बसेको सांसद भण्डारीको आरोप छ।