१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १९ मंगलबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंका सडक तत्काल सुधार्न मन्त्री ज्वालाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १९ मंगलबार ११:१३:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् । विभिन्न नौ निकायका प्रमुखहरूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बोलाएर उनले काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिए । मन्त्री ज्वालाले भने, ‘तपाईंहरू काममा गम्भीर नहुने, नागरिकले दैनिक सास्ती पाइराख्ने अनि मन्त्री टुलुटुलु हेरेर बस्नुपर्ने ?’ उनले भने, ‘अब म आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।’

सडक विभागले सडक कालोपत्रे गर्ने, केही दिनमै त्यही सडकमा नेपाल विद्युत् प्राधिकरणले खन्ने, लगत्तै नेपाल टेलिकमले पुनः खन्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्ने कार्यले सडकको बेहाल भएको उनले बताए । ‘सडकको यो हरिबिजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सुधारमा लाग्नुहोस्,’ उनले भने । 

बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं, नेपाल टेलिकमका प्रतिनिधिलगायतको सहभागिता थियो । 

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरू अन्डर ग्राउन्डेड गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए ।