
काभ्रेको पनौती–खोपासी सडकको पनौती–क्लबघर खण्ड कालोपत्रे गर्न माग गर्दै पनौती नगरपालिका– १० का वडाध्यक्षले अनशनको चेतावनी दिएका छन्।
वर्षौँदेखि चार किलोमिटर सडकखण्ड पिच नगरेको भन्दै वडाध्यक्ष मोहनबहादुर भण्डारीले तीन हप्ताभित्र स्रोत सुनिश्चित गरेर काम सुरु गर्न अल्टिमेटम दिएका हुन्। बनेपा–पनौती–खोपासी–तालढुंगा सडकमा पर्ने पनौती–खोपासी–क्लबघर सडकखण्डलाई तीनै तहको सरकारले बेवास्ता गरेको उनको आरोप छ।
उक्त सडकको पनौती– ७ तर्फ र बेथानचोकतर्फ पिच भइसके पनि पनौती– ९ र १० मा पर्ने भागलाई बेवास्ता गरिएको उनको भनाइ छ। सडकखण्डको चारैतर्फको सहायक सडक पिच भएको, तर डाँडापारि जाने सडकको पनौती खण्डमा पिच नहुँदा सबैले जनप्रतिनिधिहरूलाई गाली गर्ने गरेको वडाध्यक्ष भण्डारीले बताए। ‘पनौतीको बजारतर्फ पिच छ, सुनथानबाट आउने सडक पिच छ, रोशीतर्फ र बेथानचोकतर्फ पनि पिच छ। बीचको भाग पिच नहुँदा स्थानीयले सास्ती र जनप्रतिनिधिले गाली खानुपरेको छ,’ भण्डारीले भने।
२१ दिनभित्र पिच नभए वैशाख १६ देखि आमरण अनशन बस्ने उनको चेतावनी छ। ‘म तीनै तहको सरकारलाई अनुरोध गर्छु कि अविलम्ब पिच होस्। २१ दिनभित्र पिच नभए २२औँ दिन वैशाख १६ गते आमरण अनशन बस्नेछु। त्यसको जवाफदेही सम्बन्धित निकाय हुनेछ,’ उनले भने।
वडाध्यक्ष भण्डारीका अनुसार प्रदेशअन्तर्गतको सडक भएको कारण वडा र नगरले बजेट विनियोजन गर्दा अपर्याप्त हुने भएकाले प्रदेश वा संघीय योजनामा पर्ने भन्दै स्थानीय धैर्य रहँदै आएका थिए। काभ्रेका प्रदेश सभा सदस्यसमेत रहेका पूर्वमन्त्री तीर्थ लामाले पहल गर्दै सो सडकका लागि १४ करोड ४६ लाख बजेटको व्यवस्था भएको भने पनि अहिलेसम्म बोलपत्र आह्वान भएको छैन।