मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Sunday, 23 March, 2025
२o८o चैत ९ शुक्रबार १६:२७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यपहाडी राजमार्ग : दैलेख खण्डको १२२ किलोमिटर जेठभित्रै कालोपत्रे गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार १६:२७:oo

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाको दैलेख खण्डको काम सम्पन्न हुने तयारीमा छ। राजमार्गअन्तर्गत दैलेख खण्डको एक सय २५ किलोमिटरमध्ये एक सय २२ किलोमिटर सडक कालोपत्रे गर्ने काम आगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

बाँकी रहेको तीन किलोमिटर खण्डबारे सर्वोच्चमा रिट परेकाले दैलेखको जाहारकोट खण्डको काम भने अहिले सम्पन्न हुने अवस्थामा छैन। गत वर्ष करिब ९० किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न भएको थियो। आगामी जेठसम्म दैलेख खण्डमा पर्ने अधिकांश सडकखण्ड कालोपत्रे सक्ने गरी कामलाई तीव्र पारिएको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन्।

दैलेखको पूरै खण्ड कालोपत्रे भएपछि दैलेख सदरमुकामको पूर्वीखण्ड जाजरकोटको सुयाडा र पश्चिमी खण्ड अछामसम्म सहज रूपमा यातायात सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले रुट परमिट दिनुपर्ने माग दैलेखका बासिन्दाको रहेको छ। सडक सञ्चालन भएसँगै किसानको उत्पादनले बजार पाउने र आर्थिक अवस्था सुधार हुने आशा गरिए पनि रुट परमिटको विषयमा कर्णाली प्रदेश सरकारले कुनै निर्णय लिएको छैन।

मध्यपहाडी सडक खण्डको काममा गुणस्तर कायम नभएको, काममा ढिलाइ भएको भन्दै नागरिकले आवाज उठाएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले पनि कामको गुणस्तरीयता कायम गर्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ। काम तीव्र गतिमा अगाडि बढे–नबढेको र निर्माणका क्रममा गुणस्तरीयता कायम भए नभएबारे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले स्थलगत अनुगमनसमेत गरेका छन्।

पश्चिम क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी भुसालले जेठभित्रै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई ताकेता गरेको र सोहीअनुसार कामले गति लिएको बताए। आयोजना कार्यालयले समेत बारम्बार अनुगमनका लागि दुई इन्जिनियर खटाएको आयोजना कार्यालयले जनाएको छ।

दैलेख खण्डमा डिबिएसटी प्रकारको कालोपत्रे भएकाले कतिपय स्थानहरूमा खाल्डा परेको गुनासो आइरहेको छ। आयोजनाले निर्माण कम्पनीलाई समस्या भएका स्थानमा तत्काल मर्मत गर्न निर्देशन दिएको छ। कतिपय कालोपत्रे भइसकेका स्थानहरूमा खाल्डा परेको गुनासो आएसँगै निर्माण कम्पनीलाई तत्काल पुनः मर्मतसम्भार गर्न आदेश दिएको र काम भइरहेको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले बताइन्।

अहिले जाजरकोट खण्डको ठूलो पहरोको विषयमा समेत काठमाडौंमा कुरा भएको न्यौपानेको भनाइ छ। जाजरकोट खण्डमा थप भेरिएसन गरेर मात्र थप काम गर्नुपर्ने भएकाले त्यही विषयलाई समाधान गर्नका लागि आफू काठमाडौं आएको न्यौपानेले जानकारी दिइन्।