
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई बाधा–अवरोध नपुऱ्याउन आग्रह गरेको छ। प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा वक्तव्यबाजी नगर्न आग्रह गरेको हो।
‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासनको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्षेत्रमा खटिएका कर्मचारीहरूबारे कुनै गुनासो भए तथ्य–प्रमाणसहित सम्बन्धित अधिकारीसमक्ष जानकारी गराउन प्रशासनको आग्रह छ।
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गर्दा ट्राफिक प्रहरीले चेकजाँच गरेपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आक्रोश व्यक्त गर्दै स्ट्याटस लेखेका थिए। सो विषयमा आलोचित भएपछि उनको सचिवालयले ट्राफिकले असभ्य व्यवहार गरेको भन्दै विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासनले यस्तो विज्ञप्ति जारी गरेको हो।
‘सरकारी स्रोत–साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत विगतदेखि नै हुँदै आएको छ। यस सन्दर्भमा गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्रसमेत गर्ने गरेको छ। सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।