१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Friday, 09 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८o भदौ १८ सोमबार o८:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

श्रीमती चढेको गाडी चेकजाँचमा पर्दा बालेन आक्रोशित

बालेनको सचिवालय भन्छ— ट्राफिकले गाडीलाई रोकेर असान्दर्भिक र मनोमानी प्रश्न गर्‍यो, ट्राफिक प्रहरी भन्छ— जिम्मेवारी निभाएको हो

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार o८:o९:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चढ्ने गाडीमा शनिबार साँझ उनकी श्रीमती सबिना काफ्ले र अन्य आफन्तहरू सवार थिए । ललितपुरको बालकुमारीतर्फबाट आउँदै गरेको सो गाडीलाई ट्राफिक प्रहरीले कोटेश्वरको सर्भिस लेनमा राति नौ बजे चेकिङका लागि रोक्यो । सो गाडीको अगाडि रोकिएका अन्य गाडीहरूलाई प्रहरीले पालैपालो चेकिङ गर्दै थियो । पालो आएपछि ट्राफिकले मेयर साहका चालकसँग शनिबार सरकारी गाडी किन चलाएको भन्दै प्रश्न गर्दै ट्राफिकले कागजात मागे र केहीबेर सोधपुछपछि उक्त गाडी छाडिदिए ।यही विषयले आक्रोशित बनेका मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारलाई नै आगो लगाइदिने धम्की दिए । 

ट्राफिक प्रहरीले भने उनकी श्रीमतीलगायत चढेको गाडी धेरै समय रोकेर केरकार नगरेको दाबी गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले ट्राफिकले आफ्नो ड्युटी गरेको, तर दुःख नदिएको बताए । ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी मात्रै निभाएको भन्दै त्यसलाई ठूलो विषय बनाउन आवश्यक नभएको उनको भनाइ छ ।

मेयर साहले गृहसँग अनुमति लिएको भए पनि प्रहरीलाई त्यसबारे थाहा नभएको उनको भनाइ छ । प्रवक्ता भट्टले त्यहाँ ट्राफिकसँग कुनै वादविवाद वा भनाभन नभएको दाबी गर्दै ट्राफिक नियम सबैले पालना गर्नुपर्ने बताए । घटनाको आलोचनापछि मेयर बालेन्द्र साहको सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा बालेनपत्नीसँग जोडेर प्रकाशन–प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

उक्त गाडी गुडाउन गृह मन्त्रालयको सहमति लिएकोसमेत दाबी गरिएको छ । ‘२०८० भदौ १६ गते बेलुका सात बजे सुत्केरी अवस्थामा रहनुभएकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगर प्रमुख र उहाँकी धर्मपत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो,’ मेयर साहका स्वकीय सचिव भूपदेव साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ आफ्नो स्वास्थ्य परीक्षण र एनआइसियूमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको करिब नौ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए ।’ ट्राफिकले माग गरेपछि चालकले परिचयपत्र देखाएका थिए । तर, मेयर साहको परिचय खुलाएपछि पनि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको विज्ञप्तिमा उल्लेख छ ।