१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १५:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत तथा ६ जना सम्मानित  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:३३:oo

खोटाङ ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एकजना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार तथा ६ जनालाई सम्मान गरेको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गरेका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले स्थापना गरेको रु. ११ लाख ११ हजार एक सय ११ राशिको अक्षयकोषबाट मंगलबार पुरस्कृत तथा सम्मान गरिएको हो। 

‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले प्रदान गर्दै आएको ‘शुभशेर राई उत्कष्ट शिक्षक पुरस्कार– २०८०’बाट सरस्वती माध्यमिक विद्यालय अर्खौलेका शिक्षक डिकवीर राई पुरस्कृत भएका छन्। 

प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको स्व. शिक्षक राईको दोस्रो वार्षिक पुन्यतिथिको अवसरमा हलेसी तुवाचुङ नगरपालिका– १० अर्खौलेमा कार्यरत शिक्षक राईलाई नगद रु. ५५ हजार पाँच सय ५५ राशिको पुरस्कार प्रदान गरिएको हो। 

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८०’बाट पूर्वशिक्षक नेताहरू केशवराज कार्की, जयप्रसाद आचार्य र देवी रिजाल सम्मानित भएका छन्। 

जिल्लाका विभिन्न विद्यालयमा कुशलतापूर्वक शिक्षण सेवा गर्नुका साथै शिक्षकहरूको हक तथा अधिकारका निमित्त संघ–संगठनको नेतृत्वसमेत गरेका पूर्वशिक्षकत्रयलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ। 

प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी मनाएको दोस्रो पुन्यतिथिको अवसरमा ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान– २०८०’बाट सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमाका अध्यक्ष मीनराज राई सम्मानित भएका छन्। 

हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘शुभशेर राई उत्कृष्ट प्रधानाध्यापक सम्मान– २०८०’बाट चिसापानी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर राउत सम्मानित भएका छन्। 

यस्तै, ‘शुभशेर राई दीर्घ शिक्षण सेवा सम्मान– २०८०’बाट शान्ति निकेतन मिनाकर्ण माध्यमिक विद्यालय छोरम्बुका शिक्षक नानीबाबु बस्नेत सम्मानित भएका छन्। दीर्घ शिक्षण सेवाबाट सम्मानित शिक्षक बस्नेतले २०३९ चैत– ११ गतेदेखि हालसम्म शिक्षण सेवा गरिरहेका आयोजकले जनाएको छ। 

पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पाँचकर्ण राई ‘पिके’ले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए। 

श्रद्धाञ्जली सभासमेत आयोजना गरिएको कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न शिक्षक संघ–संगठनका प्रमुख तथा प्रतिनिधि, स्व. शिक्षक राईका आफन्तलगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा स्व. शिक्षक राईको परिवारका सदस्यले आफ्नो वार्षिक कमाइको ०.५ प्रतिशत रकमबापत जम्मा भएको रु. ७८ हजार प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ। 

स्व. शिक्षक राईको परिवारका १९ जना सदस्यले गत वर्ष दिक्तेलमा आयोजित कार्यक्रममा उपस्थित भएर आफ्नो कमाइको ०.५ प्रतिशत रकम प्रतिष्ठानमा जम्मा गर्ने स्वघोषणा गरेका थिए। 

प्रतिष्ठानका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले संस्थागत रूपमा रु. ५० हजार सहयोग गरेको छ। स्व. शिक्षक राईको जेठा छोरा देवविक्रम अध्यक्ष रहेको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ गत २०७९ साउन– ३० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता गरिएको थियो।  

वि.सं. २००७ साल भदौ २५ गते जन्मिएका स्व. शिक्षक राईको वि.सं. २०७८ साल भदौ ५ गते बुइपास्थित आफ्नै घरमा निधन भएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्वअध्यक्षसमेत रहेका स्व. शिक्षक राईले खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित वीणा माविबाट शिक्षण सेवा सुरु गरेर जिल्लाका विभिन्न विद्यालयमा सेवा गरेका जनाइएको छ। 

ad
ad