१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुर बसपार्क तारबार गर्दा पनि चलखेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o७:oo

दाङको तुलसीपुर बसपार्कमा आपराधिक गतिविधि बढेपछि उपमहानगरपालिकाले तारबार गर्न ठेकेदारलाई जिम्मा दियो।  

बसपार्क व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बुढाथोकी ट्रेड एन्ड सप्लायर्सले उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क क्षेत्र अस्थायी रूपमा तारबार गर्न सुरु गर्‍यो।  

उपमहानगरपालिकालाई दिने भाडाबाट कट्टा हुने गरी ठेकेदार कम्पनीले तारबार गर्नका लागि उपमहानगरपालिकाको जग्गा छुट्याइदिन निवेदन लेख्यो। 

अमिन विक्रम गौतमले उपमहानगरपालिकाको जग्गा छुट्याइदिए । सोहीअनुसार ठेकेदार कम्पनीले दुई हप्तादेखि टिनले बेर्न थाल्यो। जब बसपार्कको पूर्वतर्फ रहेको गुमानसिंह बुढाथोकी र रीता बोहराको घरमा तारबार गर्न थालियो, त्यहाँ विवाद भयो। विवादपछि ठेकेदार कम्पनीले त्यहाँ केही दिन तारबार गर्ने काम रोक्यो। अमिन गौतमका अनुसार उनीहरूको घरलाई नै सटाएर तारबार गर्नुपर्ने हो।

‘मैले जग्गा छुट्याइदिन भनेपछि त्यहाँ गएर जग्गा छुट्याइएको थिएँ,’ उनले भने, ‘उपमहानगरपालिकाको जग्गाभरि तारबार गर्ने हो भने उनीहरूको (गुमान र रीताको) घरलाई सटाएर तारबार गर्नुपर्थ्याे।’ 

उपमहानगरपालिकाले ०५३ सालतिर बिक्री गरेका ती जग्गामा पूर्वतर्फ मात्रै निकास राख्ने गरी तयार गरिएको थियो। तर, उनीहरूले उत्तर र पूर्व दुवैतर्फ निकास थियो।त्यही निकासलाई असर पर्ने गरी तारबार गर्न नदिएपछि भएको विवादले रोकिएको काम तुलसीपुरका केही वडाध्यक्ष र इन्जिनियर गएर पुनः सञ्चालन गर्न लगाए। 

वडा नं. ३ का वडाध्यक्ष वीरबहादुर विक, ५ का अध्यक्ष वीरेन्द्र शाह, १८ का अध्यक्ष माधव वली र इन्जिनियर पवन योगी गएर त्यहाँका विवाद मिलाएपछि पुनः काम सञ्चालन भयो। तर, उपमहानगरपालिकाको जग्गाभन्दा करिब पाँच मिटर छाडेर मात्रै तारबार भयो। 

अरूको निकास बन्द गर्ने, तर एउटा घरका लागि मात्रै निकास छोडिदिएपछि त्यहाँ फेरि असन्तुष्टि पैदा भयो। ‘उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्कवरिपरि  तारबार गर्ने कुरा हो,’ ठेकेदार कम्पनी प्रमुख भीमबहादुर बुढाथोकीले भने, ‘वडाध्यक्षहरू र इन्जिनियर आएर दबाब दिएपछि हामीले केही ठाउँ छोडेर तारबार गर्‍याैँ, यो एकदमै गलत भएको छ।’ 

अहिले बनाएको संरचना अस्थायी भएकाले हाललाई ती घरलाई निकास दिइएको इन्जिनियर पवन योगीले बताए। ‘त्यहाँ निकास चाहियो भन्ने कुरा भयो,’ उनले भने, ‘त्यसपछि वडाध्यक्षहरू र म गएर त्यहाँको समस्या समाधान गरेर आएका हौँ।’ बसपार्क असुरक्षित भएपछि तारबार गरेको भन्दै उनले भने, ‘जहिल्यै विकास भएन भन्ने, काम गर्दा अवरोध गर्ने काम भयो।’ 
 
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले पनि अहिले बनाएको अस्थायी संरचना भएको भन्दै हाललाई ती घरलाई निकास दिएको बताए। खासमा  तत्कालीन नगरपालिकाले ०५३ सालमा एउटा घडेरी भनेर बिक्री गरेको थियो।

छेउतिरको घडेरी भएपछि त्यहाँ घर निर्माण गर्दा पूर्व र उत्तरतिरबाट निकास दिएर दुईवटा घर बनाइयो। तीमध्ये पूर्व निकासतिर छोरी रीताको घर पर्छ भने उत्तरतिर निकास पर्ने गरी पछाडि अर्को घर उनका बुबा गुमानसिंहको पर्छ। त्यो जग्गा उनीहरू बाबुछोरीकै संयुक्त नाममा मालपोतले पास गरेको छ। 

ठेकेदार कम्पनीले उपमहानगरपालिकालाई भाडामा दिने रकमबाट कट्टा गर्ने गरी बसपार्कमा प्रतीक्षालय, सेफ्टीट्यांकी र बसपार्क वरपर घेराबारा गर्न लागेको हो। 
 

ad
ad