Skip This
बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि न खानेपानी, न बिजुली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण ३१ बुधबार १२:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि न खानेपानी, न बिजुली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १२:४६:oo

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन्।

आइतबार राति आएको बाढीले खोलाकिनारमा रहेका दर्जनभन्दा बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युतका पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। 

बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए। उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम नीलगिरि उपभोक्ता सहकारीले गर्दै आएको छ। 

‘अहिले विद्युत् पूर्ण रूपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ,’ प्रजिअ केसीले भने, ‘उपभोक्ता सहकारीलाई भोलिका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छौँ । उहाँहरूले अस्तिदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो।’

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए। अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी वासस्थान बनाएर बसेका छन्,’ उनले भने, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ।’

खानेपानी सञ्चालनको तयारी

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। मंगलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए।

 प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए।

उनका अनुसार बाढीले चारपांग्रे सवारी दुई, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंक्षिक क्षति पुर्‍याएको छ। रासस