१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कमल खत्री म्याग्दी
२०८० श्रावण २९ सोमबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकीसहित १५ भन्दा बढी घर बगायो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०८० श्रावण २९ सोमबार ०८:०९:००

हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ कागबेनीमा बाढीले प्रहरी चौकी भवनसहित १५ भन्दा बढी घर बगाएको छ । आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाएर ठूलो भौतिक क्षति भएको हो ।

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालयलगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। उनका अनुसार प्रहरी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरू बिहानैदेखि घटनास्थलमा परिचालन भएर उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । प्रहरी चौकीको भवन बगाए पनि हातहतियारका सामान भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सफल भएको प्रहरीले जनाएको छ । 

कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिक स्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ । बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आंशिक क्षति भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए। ‘रातमा बाढी आएपछि भागदौड गरेर स्थानीयवासीले ज्यान जोगाउन सफल भए, ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन, बाढीको वितण्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ,’ अध्यक्ष गुरुङले भने । 

बाढीले घरहरू बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ । त्यसैगरी बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम-कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ । पुल बगाएसँगै उपल्लो मुस्ताङको सीधा सवारी सम्पर्क विच्छेद भएको छ । बाढीले होटेलमा पार्किङ गरी राखिएका दुईवटा गाडीसमेत बगाएको बताइएको छ।