Skip This
श्रीमती र जेठानसमेतका नाममा सम्पत्ति लुकाएको अभियोग लागेका मालपोत अधिकृत ढकाललाई सफाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Saturday, 27 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o श्रावण २२ सोमबार १९:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमती र जेठानसमेतका नाममा सम्पत्ति लुकाएको अभियोग लागेका मालपोत अधिकृत ढकाललाई सफाइ

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १९:३७:oo

विशेष अदालतले मालपोत कार्यालयका शाखा अधिकृत बद्रिराज ढकालसमेत तीनजनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो। 

उल्लिखित रकमबराबरको खर्च तथा आयको स्रोत खुलाउन नसकेको भन्दै मुद्दा चलाइएकोमा उनीसहित तीनजनाले सफाइ पाएका हुन्। सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको हो। 

ढकालका साथै अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा उनकी श्रीमती सिर्जना अर्याल ढकाल र जेठान नाताका नवराज अर्याललाई समेत प्रतिवादी बनाएको थियो। जसमा तीन वर्षपछि विशेषले तीनैजनालाई सफाइ दिने फैसला भएको छ। 

मालपोत कार्यालय ललितपुरमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा उनीमाथि मुद्दा चलाइएको थियो। ढकाल ०५४ माघदेखि अस्थायी शिक्षकका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए भने त्यसपछि खरिदारको पदमा मालपोत कार्यालयमा जागिर सुरु गरेका थिए। 

जसपछि विभिन्न मालपोत कार्यालयमा काम गरेका उनी नायब सुब्बा हुँदै अधिकृतमा बढुवा भएका थिए। उनले अस्वाभाविक रूपमा उच्च जीवनयापन गरिरहेको तथा गैरकानुनी रूपमा सम्पत्ति जोडेको भन्दै अख्तियारमा उजुरी परेको थियो। 

सार्वजनिक सेवामा प्रवेश गरेपछि ढकालले सालीको नाममा सवारीसाधन खरिद गरी प्रयोग गर्ने गरेको, अस्ट्रेलिया बस्ने जेठान नाताका नवराज अर्यालको नामको खाता अवैध कारोबारका लागि प्रयोग गर्ने गरेको अख्तियारको दाबी थियो। 

यसका साथै, तनहुँमा कार्यरत रहँदा एक दम्पतीको जग्गा बिक्री नै नगरी सरकारी लिखतमा मात्र उल्लेख गरेर बदनियतपूर्वक भ्रष्टाचार गरेकोजस्ता विवरण पनि अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको थियो। 

ढकालले सार्वजनिक सेवामा रहँदा १४ करोड ५३ लाख रुपैयाँभन्दा बढी सम्पत्ति खरिद, लगानी र व्यय गरेको भेटिएको थियो। वैध आय चार करोड २६ लाख रुपैयाँ हुनुपर्नेमा त्यसभन्दा बढी रहेको रकमलाई अवैध ठहर्‍याउँदै अख्तियारले २० जेठ ०७७ मा मुद्दा चलाएको थियो। जसमा ढकालसमेतले सफाइ पाएका छन्।