१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख १९ बुधबार o७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जुम्ल्याहा सन्तान जन्माएकी सुत्केरीको मृत्यु

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o२:oo

जुम्ल्याहा सन्तान जन्माएकी एक सुत्केरीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । एक सन्तान नर्मल र अर्काे अप्रेसनबाट जन्मिएको दोस्रो दिन शनिबार बाजुराको खप्तड छेडेदह गाउँपालिका– ४ खातीगाउँकी २९ वर्षीया रिठु धामीको मृत्यु भएको हो ।

रिठुका श्रीमान् मनबहादुर धामीका अनुसार अप्रेसन गरेर दोस्रो सन्तान जन्मिएपछि शरीर काँप्ने, रिँगटा लाग्नेजस्ता लक्षण देखिएपछि शुक्रबार राति ९ बजेदेखि शनिबार साँझ ५ बजेसम्म आइसियूमा राखेर उपचार गरिएको थियो । शनिबार साँझ ६ बजे रिठुलाई चिकित्सकले मृत घोषणा गरेको धामीले बताए । उनका अनुसार दुवै बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । 

सुत्केरी बेथाले च्यापेपछि त्यसअघि रिठुलाई शुक्रबार राति २ बजे अत्तरियामा रहेको मालाखेती अस्पतालमा भर्ना गरिएको थियो । तर, गर्भमा दुई सन्तान रहेको र मालाखेतीमा उपचार गर्न समस्या हुने भनिएपछि उनलाई शुक्रबार बिहान ५ बजे सेती प्रादेशिक अस्पताल लगिएको थियो । भर्ना भएको तीन घन्टापछि रिठुले नर्मल अवस्थामा एउटा बच्चा जन्माइन् । अर्काे बच्चा जन्माउन गाह्रो भएपछि शुक्रबार बिहान ११ बजे डा. अञ्जना शर्माको नेतृत्वमा अप्रेसन गरेर बच्चा झिकिएको थियो ।

एक महिनाअघि रिठुलाई गुदुखाती उपस्वास्थ्य चौकीले सेती प्रादेशिक अस्पताल रेफर गरेको खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दबहादुर धामीले बताए । तर, उनलाई त्यतिखेर सेती अस्पताल नलगी अत्तरियामा रहेको आफन्तको घरमा ल्याइएको थियो । बेथाले च्यापेपछि मात्रे मालाखेती अस्पताल लगिएको उनका आफन्त ललित धामीले बताए । रिठुका यसअघि चार सन्तान छन् । उनका पहिलो सन्तान १३ वर्षीया छोरी सुनिता, दोस्रो नौ वर्षीया छोरी कमला, तेस्रो ६ वर्षीय छोरा मनीष, चौथौ चार वर्षीया छोरी प्रियंका हुन् । अहिले जन्मिएका दुई पनि बालक हुन् । 

बाजुरामा चार वर्षमा १३ सुत्केरीको मृत्यु

बाजुरामा पछिल्लो चार वर्षमा १३ सुत्केरीको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार ०७६ मा पाँच, ०७७ मा एक, ०७८ मा दुई, ०७९ मा तीन र ०८० को साढे तीन महिनामा दुई सुत्केरीको मृत्यु भएको हो । ज्यान गुमाएका १३ मध्ये आठको स्वास्थ्य संस्थामा, दुईजनाको घरमा र तीनजनाको थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृमृत्युदर एक सय ५१ छ । तर, सुदूरपश्चिममा मातृमृत्युदर प्रतिलाखमा एक सय ३० छ । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृमृत्युदर भनिन्छ । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दका अनुसार कम उमेरमा विवाह गरेर कम उमेरमै आमा बन्नु, स्वास्थ्य संस्थामा गएर नियमित गर्भ जाँच नगर्नु, चेतनाको कमी, गरिबी, अशिक्षा, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति नहुँदा पनि मातृमृत्युदर घट्न नसकेको हो । 

ad
ad