१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
एजेन्सी ओटावा
२o८१ जेठ ८ मंगलबार १o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

ट्रुडोको कार्यक्रममा सिख पृथकतावादी नारा लागेको भन्दै भारतको आपत्ति

Read Time : > 1 मिनेट
एजेन्सी, ओटावा
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:३५:oo

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्बोधन गरेको एक कार्यक्रममा सिखबहुल क्षेत्रलाई अलग गर्नुपर्ने पृथकतावादी नारा लागेको भन्दै भारतले क्यानडाका उपउच्चायुक्तलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको छ । भारतको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो हर्कत हुँदा ‘कुनै रोकटोक नगरिएको’प्रति ‘गम्भीर चिन्ता र कडा विरोध’ व्यक्त गरेको छ । ‘यसले क्यानडाले पृथकतावाद, चरमपन्थ र हिंसालाई राजनीतिक स्थान दिएको एकपटक प्रकाश पारेको छ ।

यस्ता अभिव्यक्तिको निरन्तरताले भारत–क्यानडा सम्बन्धलाई असर गर्ने, भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।क्यानडाको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत आफ्ना प्रधानमन्त्री उत्तरी भारतीयले मनाउने वैशाखी पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएको जानकारी दिएको छ । टोरन्टोमा आयोजित कार्यक्रममा पृथकतावादी राज्यको समर्थन गर्ने नारा लगाइएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । 

गत वर्ष ट्रुडोले जुन २०२३ मा मारिएका क्यानडेली नागरिक तथा सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय जासुस संलग्न भएको सम्भावनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताएपछि दुई देशको सम्बन्धमा दरार आएको थियो । ४५ वर्षीय हरदीप सिंह निज्जर सिख समुदायको ठूलो जनसंख्या भएको भ्यानकुभरमा एक सिख मन्दिरबाहिर अज्ञात समूहबाट मारिएका थिए । निज्जरले भारतको सिखबहुल पन्जाब राज्यलाई स्वतन्त्र खालिस्तानी राज्य बनाउनुपर्ने माग उठाउँदै आएका थिए । उनलाई जुलाई २०२० मा भारतले ‘आतंकवादी’ घोषित गरेको थियो । 

नयाँदिल्लीले निज्जरको हत्यामा भारतीय सरकारको भूमिका अस्वीकार गर्दै आएको छ । भारतको पन्जाबमा सन् १९७० को उत्तराद्र्धमा उठेको सिख पृथकतावादी आन्दोलनका क्रममा राज्य र आन्दोलनकारीको कारबाहीबाट हजारौँ मानिसको ज्यान गएको थियो । भारतभित्र पछिल्लो समय सिख पृथकतावाद धेरै हदसम्म अन्त्य भएको भए पनि खालिस्तान समर्थक समूहहरू अन्तर्राष्ट्रिय रूपमा सक्रिय छन् । क्यानडा भारतबाहिर सबैभन्दा ठूलो सिख समुदाय भएको मुलुक हो । यहाँबाट समय–समयमा सिख पृथकतावादको माग उठ्ने गरेकाले भारत क्रुद्ध हुने गरेको छ । 

ad
ad