१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

सम्झौता भएको १२ वर्षसम्म सकिएन काम, तर ९५ प्रतिशत रकम भुक्तानी

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

साफेँ–मार्तडी राजमार्गअन्तर्गत बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– ३ मा रहेको गुइगाड पुल निर्माण कार्य थालेको १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन।

राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०६८ असार ३१ गते सडक डिभिजन कार्यालय साफेँ अछामसँग ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा काम सक्ने सम्झौता भए पनि १२ वर्ष बितिसक्दासमेत पुलको निर्माण कार्य सम्पन्न गरेको छैन।

तर, सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ। पाँच करोड ९६ लाख ११२ रुपैयाँमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा पाँच करोड २८ लाख २० हजार ५७ रुपैयाँ निकासा भइसकेको छ। 

ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगर्दा सर्वसाधारणले अप्ठ्यारो भोग्नुपरेको स्थानीय सन्जय थापाले बताए। वर्षायाममा गुइगाड खोलाको बाढीले कति वेला पुल बगाएर लैजान्छ भन्ने डरमै आफूहरू पुल ओहोरदोहोर गर्ने गरेको उनको भनाइ छ।

ठेकेदारको चरम लापरबाहीले गर्दा स्टिमेटअनुसार पुल निर्माण हुन समयमा नहुँदा यातायात सञ्चालनमा कठिनाइ भइरहेको नागरिक समाजका अगुवा कृष्ण अधिकारीले बताए। मुख्य राजमार्गको पुल निर्माण सम्पन्न नगरी सञ्चालनमा ल्याउन दिनु सडक डिभिजन कार्यालयको कमजोरी रहेको उनको भनाइ छ।

ठेकेदारले मापदण्ड पूरा नगरी निर्माण गरेको पुल सञ्चालन गराउनुका साथै लोड टेस्ट नगरी यातायात सञ्चालन गर्न दिनु सडक डिभिजन कार्यालयको कमजोरी रहेको बुढीगंगा नगरपालिका वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले बताए।

यता सडक डिभिजन कार्यालय साफेँका कार्यालय प्रमुख विवशबाबु सहदादेव भने निर्माणको जिम्मा पाएको राजेन्द्र थिगिन जेभीलाई मापदण्डअनुसार पुल बनाउन पटक-पटक ताकेता गर्दा पनि अटेर गरेको बताउँछन्। मापदण्डअनुसार कुनै पनि काम नगरेकाले आफूले ठेकेदारबाट जिम्मा नलिएको उनको भनाइ छ। हस्तान्तरण नभएको पुलबाट कुनै क्षति भएमा त्यसको जिम्मेवारी ठेकेदारले नै लिनुपर्ने उनले बताए।

तर, ठेकेदार कम्पनी राजेन्द्र थिगिन जेभीका सञ्चालक भनिएका भीमबहादुर साउद यस विषयमा प्रश्न गर्दा आफूले उक्त कम्पनी  छाडिसकेको भन्दै थप प्रतिक्रिया दिन आलटाल गर्छन्।