१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
कृष्णपुर नगरपालिका– ४ जहरी खोलामा बनाइएकाे कल्भर्ट
समाचार डिजिटल संस्करण

कृष्णपुरमा सडकविनाका औचित्यहीन पुल

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:११:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडकविनै निर्माण भएका पुल (कल्भर्ट) प्रयोगविहीन भएका छन्। सडकको सुनिश्चितताविनै स्थानीय सरकारले निर्माण गरेका पुल (कल्भर्ट) प्रयोगविहीन भएका हुन्।

एमाले नेता कर्ण हमाल नेतृत्वको अघिल्लो स्थानीय सरकारले विभिन्न खोलामा पुल निर्माण गर्‍याे। तर,  सडक नै नपुगी लाखौँ खर्चेर बनाइएका पुल अहिले अलपत्र परेका छन्। अध्ययन नै नगरी हचुवाका भरमा छनाेट गरिएका यस्ता योजना स्थानीयवासीलाई ‘कागलाई बेल’सरी भएको छ। 

आर्थिक वर्ष ०७७/७८ मा कृष्णपुर– ४ जहरी खोलामा र आर्थिक वर्ष ०७८/७९ मा कृष्णपुर ७ र ८ जोड्ने कुत्ताहा खोलामा बनाइएका पुलको औचित्यमाथि प्रश्न उठेको छ। कृष्णपुर– ४ बेलकुण्ड शिविरका स्थानीय अशोक चौधरीले जहरी खोलामा हचुवाको भरमा पुल बनाइएको भन्दै असन्तुष्टि जनाए। ‘मेरो घर यो पुलभन्दा माथिल्लो बस्तीतिर छ,’ उनले भने, ‘बजेट पचाउन र विकास देखाउन सडक सुनिश्चितताविनै पुल निर्माण गरियो। अहिले यो प्रयोगमा छैन। हामीलाई कुनै लाभ गरेको छैन।’ 

विगतमा ह्युमपाइप रहेको नालामा जमिन र ह्युमपाइपको लेबल नमिल्दा पछि कल्भर्ट हालिएको स्थानीय जगदीश बोहराले बताए। ‘वर्षाैँअघि यहाँ सडक थियो,’ उनले भने। जहरी खोलाको पुल करिब साढे ७ लाख रुपैयाँ लागतमा बनाइएको हो।

निर्वतमान वडाध्यक्ष तेजबहादुर रावल जनताको आवश्यकताअनुरूप उतिवेला कल्भर्ट निर्माण गरिएको बताउँछन् । ‘हामीले उपभोक्ता समितिमार्फत कल्भर्ट निर्माण गरेका हौँ,’ उनले भने, ‘पुल हालेपछि सडक बन्द भयो।’ उक्त  समयमा दबाबकै कारण पुल निर्माण गरिएको र अहिले बदनाम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

कृष्णपुर नगरपालिका– ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले दुवैतर्फ सडक सुनिश्चितताविनै निर्माण भएको कल्भर्टले समस्या निम्त्याएको बताए।  जहरी खोलाजस्तै कुत्ताहा खोलामा निर्माण भएको पुलसमेत प्रयोगमा नआउँदा विरोध गर्नुपरेको स्थानीय पदम कुँवरले बताए। ‘यो पुल निर्माण भएको दुई वर्ष बितिसक्यो,’ उनले भने, ‘टर्निङ प्वाइन्टनिर जमिनको सुनिश्चिता छैन।’ सडकको क्षमताभन्दा ठूलो पुल निर्माण भए पनि स्थानीयलाई कुनै लाभ नभएको उनले बताए। उक्त पुल निर्माणमा १५ लाख तीन हजार रुपैयाँ खर्च भएको छ।

उक्त पुल उपभोक्ता समितिका अध्यक्ष रामदत्त भट्टले स्थानीयले जमिन दिन नमानेपछि विवाद भएको बताए। ‘पुल निर्माण कार्य सम्पन्न भयो,’ उनले भने, ‘उतिवेला सरकारले दायाँबायाँ भरान गरिदिएन, त्यसपछि स्थानीय सरकार नै परिवर्तन भयो।’

कृष्णपुर नगरपालिका– ७ का वडाध्यक्ष घुम्मन रानाले उतिवेलाको स्थानीय सरकारले हचुवाका भरमा औचित्यहीन रूपमा ठूलो बजेट हालेर कल्भर्ट निर्माण गरेको बताए। ‘औचित्य र आवश्यकता भएको भए आज स्थानीयले पुल निर्माणमा साथ दिनुपर्ने थियो,’ उनले भने, ‘त्यहाँ काठको पुल हुँदाहुँदै सडक विस्तार नै नगरी पुल निर्माण गरियो।

सडकको पहुँच सुनिश्चितताविनै पुल निर्माण गरेर अनियमितता गरिएको भन्दै स्थानीयले छानबिनको माग अघि सारेका छन्। कृष्णपुर नगरका मेयर हेमराज ओझाले जहरी खोला र कुत्ताहा खोलामा कल्भर्ट निर्माण कार्य आफ्नो कार्यकालमा नभई अघिल्लो सरकारका पालामा भएको बताए। ‘दुवै खोलामा हाम्रो पालना पुल बनेका होइनन्,’ मेयर ओझाले भने, ‘एमाले नेतृत्वको सरकारले यस्ता विवादित योजना बनाउने, आलोचित  हामीले हुनुपरेको छ।’

सडक सुनिश्चितताविनै निर्माण गरिएका पुल प्राविधिक दृष्टिकोणबाट समेत ठीक नदेखिएको उनको भनाइ छ। ‘दुवै पुल क्षेत्रका सडक विस्तारका लागि जमिन प्राप्तिदेखि थप योजना ल्याउन जटिलता उत्पन्न भएको छ,’ मेयर ओझाले भने, ‘दुवै पुल निर्माणमा बदनियत देखियो, कसैले भनेकै भरमा योजना हालेर अहिले औचित्यहीन देखियो।’ उनले दुवै खोलामा निर्माण भएका पुल सञ्चालनका लागि अहिलेको पालिका सरकार तयार रहेको बताए।

ad
ad