१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
समाचार डिजिटल संस्करण

सामुन्नेमा अलपत्र रंगशाला देखेर दिक्क मान्छन् जिल्लावासी

२८ महिनामा सक्नुपर्ने चौतारा रंगशाला तीन वर्षमा ३५ प्रतिशत

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:२१:oo

अव्यवस्थित रूपमा छरिएका काठ र फलामको टुक्रा, खिया लागेको फलामे रडको थुप्रो र हिलाम्मे जमिन। प्राचीनकालदेखि रहँदै आएको सदरमुकाम चौतारास्थित ऐतिहासिक टुँडिखेलको हालको अवस्था हो यो।

खेलकुद र स्थानीयको जमघटका लागि प्रयोग हुँदै आएको टुँडिखेल तीन वर्षयता निर्माणजन्य टुक्राटाक्री सामग्रीले भरिएको छ। बिहान–बेलुका फुटबल र भलिबल खेल्न आउने स्थानीय खेलाडी टुँडिखेलको अवस्था देखेर दुःखी छन्। 

चौतारामा मिनी रंगशाला बनाउन बागमती प्रदेश सरकारले जहिलेदेखि निर्माण कम्पनीलाई जिम्मा लगायो, त्यसयता टुँडिखेल पानी नपुगेको घट्टजस्तै भएको छ। 

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको काभ्रेपलाञ्चोक जिल्लाको भैँसेपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन एकाइ  र सुनकोसी गिरी ज्याइन्ट भेन्चर निर्माण कम्पनीबीच २३ असार ०७७ मा चौतारा रंगशाला बनाउने ठेक्का सम्झौता भएको थियो। 

२८ महिनामा सकिनुपर्ने काम तीन वर्ष बित्दा बल्ल ३५ प्रतिशत पूरा भएको छ। संघीयतामा विकास निर्माण चुस्तदुरुस्त हुने राजनीतिक भाषणबाजी गरिए पनि पूर्वाधार र अन्य विकास निर्माणमा पहिलाभन्दा कुनै परिवर्तन आएको छैन । न सरकारी कर्मचारी र जनप्रतिनिधिको प्रवृत्ति फेरियो न त निर्माण व्यवसायी फेरिए।

प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि ३५ करोड विनियोजन भएको थियो। सार्वजनिक निर्माण कार्यान्वयन इकाइले न्यूनतम् मूल्यमा ठेक्का सम्झौता गर्‍याे।

 

सुनकोसी–गिरी निर्माण कम्पनीले २० करोड ९२ लाख २६ हजार नौ सय दुई रुपैयाँमा ठेक्का लिएको चौतारा रंगशालाको निर्माण तोकेको समय गुज्रिसक्दा ३५ प्रतिशत मात्रै सम्पन्न भएको कम्पनीले जनाएको छ। पूरा भएको काम पनि मापदण्डअनुसार छैन।

रंगशालाको डिजाइन पाँचपटकसम्म संशोधन हुनुले मापदण्डअनुसार नभएको पुष्टि गर्छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल सामाजिक विकासमन्त्री हुँदा रंगशाला निर्माण योजना सम्झौता भएको हो। ठेकेदारले समयमा काम पूरा गर्न नसकेपछि बागमती प्रदेश सरकारले अब एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएको छ। तर, सो अवधिमा पनि सकिने अवस्था छैन। स्टेडियमको उत्तर–पश्चिमतिर हालसम्म जग राख्नसमेत सकेको छैन।

‘एक वर्षभित्र निर्माण सक्न ठेकेदार कुमार गिरीलाई हामीले निर्देशन दिएका छौंँ,’ मन्त्री दुलालले भने  सरकारले पछिल्लोपटक दिएको समयमा काम पूरा नभए ठेकेदार कम्पनीलाई कार्वाही गरिने उनले चेतावनी दिए। 

यद्यपि, नयाँ पत्रिकाले पटकपटक सम्पर्क गर्दा ठेकेदार गिरीले फोन उठाएनन्। वेलावेलामा नक्सा र डिजाइन परिवर्तन गर्ने, सम्पन्न भएको कामको भुक्तानी समयमा नदिने र निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले कम्पनी समस्यामा परेको फिल्डमा रहेका प्रतिनिधि शिव घलेले बताए।

निर्माण क्षेत्र वरपरका सामग्री हेर्दा रंगशाला कमजोर देखिन्छ। सम्पन्न भएका दुईवटा स्टेडियम छानो नभएकाले लेउ लागेर भत्कन थालेका छन्। रंग खुइलिएको छ। वाल पटपटी फुटेको छ। 

तीन वर्षअघि ल्याएर हिलाम्मे चउरमा राखिएका फलामका रड खियाले मक्किएर राताम्मे भएका छन्। यस्ता निर्माण सामग्री प्रयोग गरेर बनेको रंगशाला कमजोर हुने स्थानीय बताउँछन्। नागरिकता र राहदानी बनाउन जिल्ला प्रशासन आएका जिल्लावासी सामुन्नेमा रहेको निर्माणाधीन चौतारा रंगशाला देखेर दिक्क मान्छन्।

ad
ad