मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

६ पटक म्याद थपेर ४२ दिन थुना भइसक्यो, बिहीबार फेरि सात दिन थप्यो

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक आपराधिक उपद्रव कसुरमा सात दिन र राज्यविरुद्धको कसुरमा पाँच दिन म्याद थप गरेपछि उनलाई ६० दिनसम्म नै हिरासत राख्ने रणनीतिमा प्रहरी देखिएको हो । 

गत १५ चैतमा राजावादी आन्दोलनमा तीनकुनेमा भएको आगजनी तथा तोडफोडमा मिश्रसहित २५ विरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंबाट सातौँपटक म्याद थप भएको छ । म्याद थप गरिनेमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं पनि छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मिश्रसहितका २५ अभियुक्तविरुद्ध दुई फरक–फरक मुद्दामा पाँच र सात दिनको म्याद थप भएको बताए । उनले भने, ‘मिश्रसहितका अभियुक्तविरुद्ध आपराधिक उपद्रवमा सात र राज्यविरुद्धको कसुरमा पाँच दिनको म्याद थप भएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

मिश्र ४२ दिनदेखि काठमाडौं परिसरको हिरासतमा छन् । यसअघि उनीविरुद्ध राज्यविरुद्धको कसुर तथा संगठित अपराध कसुर लगाइएको थियो । अहिले उनीविरुद्ध आपराधिक उपद्रव कसुर पनि लगाइएको छ । उनी घटनाकै दिन अर्थात् १५ चैतको साँझ पक्राउ परेका थिए । उनीविरुद्ध १६ चैतमा पाँच दिनको म्याद थप भएको थियो । त्यसपछि २० चैतमा सात, १७ चैतमा १५, १० वैशाख तीन, १४ वैशाखमा सात, २० वैशाख पाँच दिन र बिहीबार (२५ वैशाख) पाँच र सात दिनको म्याद थप भएको छ । यसक्रममा प्रहरीले घटनाबारे बयान लिइसकेको छ । 

संविधानको धारा १७ (२) को क, ख र ग मा कुनै पनि नागरिकलाई विचार अभिव्यक्तिको स्वतन्त्रता, विनाहातहतियार शान्तिपूर्वक भेला हुने र राजनीतिक दल खोल्ने स्वतन्त्रता छ । मौलिक हकअन्तर्गत व्यवस्था गरिएको उक्त धाराको उपधार २ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुनेछ । विनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता हुनेछ । राजनीतिक दल खोल्ने स्वतन्त्रता हुनेछ ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्ना गल्ती ढाकछोप गर्न सरकारले मिश्रमाथि ज्यादती गरिरहेको बताए । ‘तीनकुने घटना न्यायिक छानविनको बिषय हो । हामीले सुरुदेखि नै समिति गठन गर्न भनेका छौँ । तर, सरकारले आफ्नो गल्ती ढाकछोप गर्न समिति गठन गरेको छैन । बदलामा मिश्रलगायतका नेताविरुद्ध मुद्दा माथि मुद्दा थोपरेको छ,’ उनले भने, ‘यो प्रतिशोधपूर्ण छ । यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी निकाय बोल्न आवश्यक छ ।’

सुझावित समाचार