
ब्रेकसुमा लुकाएर क्विन्टल परिमाणमा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङको भन्सार कार्यालयलाई पत्राचार गरेको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको यस तस्करी प्रकरणमा भन्सार विभागले पनि आन्तरिक छानबिन गरिरहेको छ । यसैक्रममा विभागले हङकङलाई पत्राचार गरेको हो ।
विभागका निर्देशक हरिहर पौडेलले सुन तस्करी भएर आएको विषयमा हङकङको भन्सार कार्यालयलाई पत्राचार गरिएको बताए । ब्रेकसु भनेर घोषणा गरिएको वस्तु सुन भेटिएपछि त्यसरी आएको सामान, निर्यातकर्ता, भन्सार प्रक्रियाबाट कसरी छुट्यो भन्नेजस्ता विषयमा विभागले पत्राचार गरेको हो ।
दुई दिनअघि नै यस्तो पत्राचार गरिएको र हङकङले प्राप्त गरिसकेको निर्देशक पौडेलले बताए । ‘हामीकहाँ आएको कन्साइनमेन्ट, उता के भनेर घोषणा भएको थियो, निर्यातकर्तालगायतको विषयमा हामीले कूटनीतिक तवरले चासो राखेका छौँ,’ उनले भने, ‘पत्र कार्यालयले रिसिभ पनि गरिसकेको छ ।’
भन्सार विभागले सीधै हङकङ भन्सारलाई पत्राचार गर्दै नेपालमा सुन तस्करीको विषयमा भएको छानबिनका लागि सहयोग गर्न पनि आग्रह गरेको छ । नेपाल र हङकङ दुवै ‘वर्ल्ड कस्टम अर्गनाइजेसन’का सदस्य छन् । यो अर्गनाइजेसनको सदस्य भएका भन्सारबीच सीधा संवाद र पत्राचार हुने व्यवस्था छ ।
यही २ साउनमा हङकङको क्याथे प्यासिफिकको विमानबाट रेडी ट्रेडका नाममा १६० वटा ब्रेकसु भित्रिएको थियो । त्यसमा करिब एक क्विन्टल सुन रहेको प्रारम्भिक अनुमान छ । विशेष सूचनाका आधारमा उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा विभागले हालसम्म १७ जनालाई नियन्त्रणमा लिइसकेको छ भने विभिन्न गोदाममा छापा पनि हानिसकेको छ ।