१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण ९ मंगलबार ०६:११:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस कार्यसमिति बैठक : बहस सकियो, बुधबार निर्णय

Read Time : > 4 मिनेट
२०८० श्रावण ९ मंगलबार ०६:११:००

पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा चर्काचर्की र समूहअनुसार नेताहरूको आरोप–प्रत्यारोपसहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको बहस सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार निर्णय सुनाउने गरी सोमबार बैठक टुंगिएको छ । 

बैठकको छैटौँ दिन सोमबार बोल्न बाँकी केन्द्रीय सदस्यको धारणा, मन्त्रीहरूको ब्रिफिङका साथै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठेका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि उसै दिन सभापति देउवाले निर्णय सुनाउने गरी बुधबार ४ बजेसम्मका लागि बैठक सारिएको थियो । 

कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा : खड्का 
बैठकमा उपसभापति खड्काले चार दलको समाजवादी मोर्चा कांग्रेससँगकै सहमतिमा बनेको सुनाए । डा. शेखर कोइरालाले उठाएको प्रश्नमा जवाफ दिँदै खड्काले गठबन्धन पुनर्स्थापित गर्ने सवालमा भएका बैठकहरूमा नै यसबारे माओवादी, जसपा र एकीकृत समाजवादीले जानकारी गराएको बताए ।

‘१० पुसमा भत्किएको गठबन्धन पुनर्स्थापित गर्ने सन्दर्भमै तीन दलबीच मोर्चा निर्माणको सहमति भएको हो । पछि विप्लवजी थपिएर चार पार्टी भएर सार्वजनिक घोषणा भएको हो । कांग्रेसले त्यही रूपमा बुझेको छ,’ उनले बैठकमा भने, ‘पुस १० मा गठबन्धनमा गडबड थियो । त्यही रातिबाट हामी लागेर प्रारम्भ भयो, विश्वासको मतसम्म पुग्यो र अहिले सातै प्रदेश र केन्द्र सरकारमा छौँ ।’

उपसभापति खड्काले सभापतिले नचाहेर बैठक बस्न ढिला भएको भन्नेमा सत्यता नरहेको प्रस्टीकरण दिए । राजनीतिक घटनाक्रम र तिनका असरलाई मूल्यांकन गरेर बैठक सारिएको उनको दाबी थियो । कांग्रेसमा झन्डै एक वर्षको अन्तरालमा केन्द्रीय समिति बैठक बोलाइएपछि सभापतिको आलोचना भएको थियो । 

उपसभापति खड्काले पार्टीभित्रका गुट व्यवस्थित गरेर लानुपर्ने, तर पार्टी निर्णय सबैले मानेर जानुपर्ने सुनाए । ‘कांग्रेस रूपान्तरण र सुधारका कुरा व्यवहारसँग जोडिएको छ । मूल पार्टीभित्र विचार समूह हुन्छन्, नकारेर हुँदैन । छलफल गरेर सुधारेर जाने नै रूपान्तरण हो,’ उनले भने, ‘जिम्मेवारीअनुसार काम गर्दै गयो भने झगडा घट्दै जान्छ । पार्टी एक भएर जाने अवस्था आउँछ । धेरै छलफल गरौँ, निर्णयविपरीत सार्वजनिक टिप्पणी गर्‍यौँ भने त्यो विधानको उल्लंघन हो ।’

उपप्रधानमन्त्रीसमेत रहेका खड्काले सीमा र आवश्यकताका आधारमा आफूहरूले सरकारमा काम गरिरहेको बताए । सरकारका विषयमा पार्टीबाट थप सुझाव र निर्देशन आवश्यक रहेको उनको भनाइ थियो । ‘जनतालाई दिनुपर्ने प्रतिफलका लागि हामीले प्रयत्न गरेका छौँ । सम्पूर्ण एजेन्डा सम्बोधन गर्दै बैठकले सुझाव र निर्देशन पनि देओस्,’ खड्काले भने ।

पहिला आफ्नो व्यवहार बदलौँ : उपसभापति गुरुङ
अर्का उपसभापति धनराज गुरुङले पार्टी सुधारका निम्ति आफैँबाट सुधारको आवश्यकता रहेको बताए । कानुनमन्त्रीसमेत रहेका उनले सरकारले दण्डहीनतालाई पक्षपोषण गर्ने गरी कानुन निर्माण नगर्ने बताए । ‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई अप्ठ्यारो पार्ने कुरा आएका छन् भने त्यसलाई राखिन्न । देश र जनताको हित प्रतिकूल छ भने ती विषय आउँदैनन्,’ उनले भने, ‘ पार्टीले भ्रष्टाचारमा कसैको मुख नहेरोस् । सबैले व्यवहार बदलौँ । हेर्दा पनि कांग्रेसको सदस्यता लिउँलिउँ भनेर लाग्ने बनाऔँ । जनताको कांग्रेस बनाऔँ । सभापतिलाई बदल्नुभन्दा पहिला आफू बदलिनुपर्छ,’ गुरुङको भनाइ थियो ।

बैठकमा केन्द्रीय सदस्य कृष्ण सिटौलाले पार्टीलाई चलायमान बनाउने र जनजीविकाका सवालमा पार्टीको निर्णय आउनुपर्ने धारणा राखे । ‘संगठन परिचालन हुँदा बृहत् परिचालन र एकता हुने गरी चलाइयोस् । जिम्मेवारी दिँदा प्रदेशको भूमिकालाई ध्यान दिइयोस् । जनतालाई सम्बोधन गर्ने र जनताले चाहेकोे विषयमा प्रस्ताव आओस्,’ सिटौलाको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य राजीव कोइरालाले पार्टी अनुशासन सबैलाई बराबर हुन नसकेको बताए । कारबाहीको विषयमा एकरूपता हुनुपर्ने उनको माग थियो । ‘अनुशासनको कारबाही फिर्ता कतै राखिराख्ने कतै फुकुवा गर्ने हुनुभएन । कि त सबैतिर माफी दिनुपर्‍यो कि त कडाइका साथ लागू गर्नुपर्‍यो । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिऔँ । भ्रातृ संस्थालाई चलायमान बनाऔँ,’ कोइरालाले भने । 

सहरी विकासमन्त्री सीता गुरुङले मन्त्रालयमा बजेट न्यून हुँदा परिणाम दिने गरी काम गर्न नसकिएको बताइन् । सीमित बजेटका बीच परिणाम ल्याउन केन्द्रित रहेको उनको भनाइ थियो । ‘मन्त्रालयले छोटो समयमा पूरा गर्न कठिन थियो । आर्थिक र भौतिक प्रगतिमा सुधार गरेका छौँ । आर्थिक व्यवस्थापनमा समस्या थियो । बजेट कम भयो । तर, संघीयता प्रभावकारी बनाउन बजेटको सीमितता छ,’ उनको भनाइ थियो ।

कांग्रेसले चुनाव मात्रको चिन्ता होइन, समग्र देशको चिन्ता गर्नुपर्छ : महामन्त्री शर्मा 
महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको बैठकबाट कांग्रेसले आगामी निर्वाचनको तयारीबारे निर्णय नगर्ने बताए । कांग्रेसले चुनाव मात्रको चिन्ता गर्ने नभई समग्र देशको चिन्तामा आफूलाई केन्द्रित बनाएर जानुपर्ने, यसका लागि सरकारबाट डेलिभरी र संगठन सुदृढ बनाएर जानुपर्ने उनको भनाइ थियो । 

‘०८४ लाई गम्भीरतापूर्वक लिएको छैन, बैठकले मिसन ०८४ को घोषणा गर्नेछैन । कतिपयले घोषणा गरेका छन् । केवल चुनाव हुँदै छ ०७४ मा चुनाव हुने ०७९ को चिन्ता, ०७९ को चुनाव हुने अनि ०८४ को चिन्ता, ०८४ मा चुनाव भएपछि अर्को चुनावको चिन्ता ? चुनाव भएपछि चुनाव मात्रको चिन्ता, देशको चिन्ता कहिले गर्ने ? कांग्रेस यसैमा छ,’ शर्माले भने, ‘मिसन घोषणा गर्नुपर्‍यो भने पनि ०८३ पुग्दै गर्दा प्रतिबद्ध भएर घोषणा गरौँला । अहिले देशका र विविध विषयमा छलफल छ । संगठन बलियो बनाउने छलफल हो ।’

महामन्त्री शर्माले नेता बालकृष्ण खाणको विषय समग्र भ्रष्टाचारको विषयसँग जोडेर कांग्रेसले कानुन कमजोर बनाउन नलागेको बताए । उनले अदालतको आदेश मानेर जानुपर्ने बताए । ‘भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडि को छ ? नेपाली कांग्रेस छ । सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तीकरण गर्ने काम हामीले गरेका हौँ । नेताहरू पर्नुभयो होला, कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने त हुँदैन,’ उनले भने, ‘हामीले बनाएको कानुनमा हाम्रै नेता पर्नुभयो, तर हामीले कानुन कमजोर बनाउन खोजेनौँ । अहिले अरू दलले निलम्बन गर्‍यो–गरेन भन्ने मात्रै होइन ।’ 

नेता डा. शेखर कोइरालाले समाजवादी मोर्चाको विषयमा उठाएको प्रश्नमा महामन्त्री शर्माले बैठकमा अन्य पार्टीको विषयमा बोल्न पाइने बताए । ‘कुनै पनि राजनीतिक दलमा आवश्यकताअनुसार अन्य दलको चर्चा हुन्छ । कांग्रेसजस्तो दलमा नहुने भन्ने हुँदैन । अन्य दलबारे बोल्दा पटक्कै नबोल्नु भन्ने कुनै पार्टीको चुनाव चिह्न, नाम लिँदा ब्रान्डिङ नहोस् भन्ने आशय मात्र हो,’ महामन्त्री शर्माले भने ।

उनले बैठकमा महामन्त्रीले सभापतिको आलोचना मात्रै गरेको भन्दै प्रश्न उठेकोमा गाली र आलोचनालाई फरक रूपमा बुझ्न आग्रह गरे । ‘महामन्त्री कमजोरीलाई सच्याएर, केलाएर जानका लागि बनाइएको हो । केन्द्रीय सदस्यको मनोनयन गरौँ भन्दा साथीहरू गाली भन्नुहुन्छ, सभापति केही भन्नुहुन्न,’ उनको जवाफ थियो ।

संसदीय दलको नेता फेर्न लागिरहन्छु : महामन्त्री थापा

महामन्त्री गगन थापाले बैठकमा जवाफ दिने क्रममा आफू निरन्तर संसदीय दलको नेता बदल्न लागेको बताए । ‘संसदीय दलको नेतामा मेरो प्रयास जारी हुन्छ । त्यही भएर दलको नेता बदल्ने प्रयास गरेँ । सकिनँ, परिणाम माने, मान्नैपर्छ । फेरि गर्न मिल्छ । पार्टी विधानले गर्न दिन्छ । आवश्यकता छ, तर सम्भव हुन्छ–हुँदैन थाहा छैन । कर्म गर्ने हो, फलको आस नगर्ने हो । मलाई लाग्छ– गाह्रो छ । सांसदहरूको मत पाउन गाह्रै छ नि ! गाह्रो छ भनेर ठीक काम छोड्न हुँदैन,’ उनले भने, ‘म चाहन्छु– सभापतिज्यूले पाँचपटक भइसकेँ, छैटौँपटक किन हुने ? को हुने हो अघि आऊ भन्नुहुन्छ कि ? म हुनुपर्छ नै भन्ने होइन, जो भए पनि हुन्छ । म अगाडि बढ्दा साथीहरू किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो ।’

महामन्त्री थापाले केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीको कार्यतालिका ‘एनजिओको विसलिस्ट’जस्तो भन्दै गरेको टिप्पणीमा कार्यतालिका समग्र कांग्रेसको विसलिस्ट भएको जवाफ फर्काएका छन् । उनले कार्यतालिकाअनुसार काम हुँदा सबैले जिम्मेवारी पाउने र पार्टी गतिविधि सक्रिय हुने बताए । ‘केही साथीले हामीले ल्याएको कार्यतालिका एनजिओको विसलिस्टजस्तो भयो भन्नुभएको छ । मैले एनजिओमा धेरै काम गरेको छैन । तर, आमपार्टीका साथीहरूको विसलिस्ट हो । यो पास भएपछि कार्यालय एक दिन आएन भने काम गर्नैै सकिँदैन,’ महामन्त्री थापाले भने । 

उनले आफू नबोल्दैमा समस्या समाधान नहुने बताए । ‘साथीहरूलाई लागेको छ– म चुप लागेर, मौन व्रत राखेर बोल्न कम गर्‍यो भने सबै समस्याको हल हुन्छ । यस्ता चिन्तनले हामीलाई अप्ठ्यारो पार्छ । सम्हालिने वेला छ,’ उनको भनाइ थियो । थापाले भ्रष्टाचार र सुशासनका सन्दर्भमा १३ बुँदे लिखित प्रस्तावसमेत सभापति देउवालाई बुझाएका थिए । प्रस्तावमा पार्टीमा नेतालाई अभियोग लागे स्वतः जिम्मेवारीबाट अलग रहनुपर्ने, नभए पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्नेलगायतका विषय छन् ।

देउवाको प्रतिबद्धता– बैठकबाहेक पनि पार्टी कार्यालयमा आउँछु
सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाहेक समयमा पनि आफू पार्टी कार्यालय आउने प्रतिबद्धता जनाएका छन् । सोमबार केन्द्रीय सदस्य बलबहादुर केसीले घरबाटै पार्टी चलाइयो भन्दै प्रश्न उठाएका थिए, जसको जवाफ दिँदा महामन्त्री शर्माले सभापति देउवाले आफू कार्यालयमा आउने प्रतिबद्धता जनाएको बताएका थिए । ‘सभापति र महामन्त्रीले फ्राइडे–फ्राइडे मिट गरौँ भन्दा सभापतिज्यूले पनि हुन्छ भन्नुभएको छ । अब उहाँले नै आउँछु भनेपछि बैठक भएका वेला मात्रै होइन, अरू वेला पनि केन्द्रीय कार्यालयमा भेट्न सकिन्छ । अर्का महामन्त्री पनि आउनुहुन्छ,’ शर्माले भने । शर्मा बोलिरहँदा सभापति देउवाले ‘म आउँछु’ भनेका थिए । कांग्रेस पदाधिकारीहरू बैठकबाहेक विरलै केन्द्रीय कार्यालय जाने गरेका छन् ।