१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
युनिलिभर नेपाल लिमिटेडसँगको सम्झौतापछि राष्ट्रिय महिला फुटबल टोली  । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण ३ बुधबार ०६:४२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला फुटबललाई युनिलिभरको साथ

एन्फा र युनिलिभर नेपाल लिमिटेडबीच एक वर्षको सम्झौता, युनिलिभरले महिला फुटबल विकासमा वार्षिक २५ लाख रुपैयाँ प्रदान गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण ३ बुधबार ०६:४२:००

युनिलिभर नेपाल लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एक वर्ष प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरले एक–आपसमा एकवर्षे सम्झौता गरेका छन् । प्रायोजनसम्बन्धी मंगलबार भएको पत्रकार सम्मेलनमा एन्फाका अध्यक्ष पंकज नेम्वाङ र युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अमलन मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । युनिलिभरबाट महिला टोलीले वार्षिक २५ लाख रुपैयाँ पाउनेछ । सम्झौताअनुसार महिला फुटबलको विकासमा युनिलिभर नेपालले थप सहयोग गर्नेछ ।

नेपाली महिला टोलीले आइतबार मात्रै बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलको सिरिज जितेको थियो । पहिलो खेल १–१ को बराबरी र दोस्रो खेल निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएको थियो । त्यसपछि टाइब्रेकरमा नेपालले बंगलादेशलाई ४–२ ले हराउँदै सिरिज जितेको थियो । ट्रफी जितेर नेपाल फर्किएको दोस्रो दिनै महिला टोलीले एक वर्षका लागि चर्चित कम्पनीबाट प्रायोजन प्राप्त गर्न सफल भएको छ । एन्फाका अध्यक्ष नेम्वाङले महिला टोलीले छिटै फिफा महिला विश्वकप खेल्न सक्ने धारणा राखेका छन् । नेपालमा फुटबलको वातावरण सकात्मक हुनुपर्ने उनको भनाइ छ । 

‘वातावरण सकारात्मक रहे नेपालको महिला फुटबल टोलीले छिटै नै विश्वकप खेल्नेछ,’ उनले भने, ‘हामीले महिला फुटबलको विकासका लागि विशेष कार्यक्रमसहित अगाडि बढिरहेका छौँ ।’ उनले युनिलिभरसँगको सम्झौतालाई ऐतिहासिक मानेका छन् । ‘महिला फुटबलको इतिहासमा आजको दिन ऐतिहासिक हो,’ महिला टोलीको प्रशंसा गर्दै एन्फा अध्यक्ष नेम्वाङले भने, ‘एन्फा पुरुषसँगै महिला फुटबलको विकासमा सक्दो काम गर्नेछ ।’ 

एन्फाले महिला र पुरुष फुटबल टोलीलाई मासिक सुविधा रकम प्रदान गर्दै आएको जनाए । ‘एन्फाले पुरुष र महिला टोलीका खेलाडीलाई मासिक पारिश्रमिक समान प्रदान गरिरहेको छ,’ उनले भने । नेम्वाङले महिला फुटबलको विकासमा एन्फाले योजना बनाएर अघि बढेको र मिसन महिला विश्वकप अभियान २०२७/२०३१ सुरु गरिसकेको बताए । ‘यो सम्झौताले नेपाली महिला फुटबलमा नयाँ अध्यायको सुरुवात भएको छ । नेपालको महिला विश्वकप खेल्ने लक्ष्यमा पनि यसले सहयोग गर्नेछ,’ उनले भने ।  

नेम्वाङले युनिलिभरसँगको सम्झौता कार्यक्रममा महिला टोलीले सम्भवतः सन् २०२७ वा ०३१ को विश्वकप खेल्न सक्ने जनाए । पछिल्लो समयमा महिला टोलीको प्रदर्शनबाट खुसी भएको उनले बताए । युनिलिभरले समग्रमा नेपालको फुटबल विकासमा सहयोग गर्न आफूहरू तयार भएको जनाएको छ । युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले फुटबल विकासकै लागि सम्झौता गरिएको बताए । ‘हामीले फुटबल विकासमा एकजुट भएर लाग्न यो सम्झौता गरेका हौँ,’ उनले भने ।