१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला फुटबललाई इतिहास रच्ने अवसर

०४३ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको महिला टोली १० फाइनल खेल्दा उपविजेतामै सीमित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२२:oo

३८ वर्षको यात्रामा नेपाली राष्ट्रिय महिला फुटबल टोली उपाधि जित्ने लक्ष्यका साथ साउदी अरेबियामा छ । अहिलेसम्म महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रमै रुमलिएको महिला खेलाडीले केही समययता एसियाका विभिन्न राष्ट्रमा प्रतियोगिता खेलिरहेका छन् ।

अहिलेसम्म १० फाइनल पुग्दा नेपाल सबैमा उपविजेता बनेको छ । गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानी र प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा नेपाली टोलीले साउदी अरेबियामा हुन गइरहेको वाफ महिला च्याम्पियनसिपका लागि कडा तयारी गरिरहेको छ । 

कप्तान एन्जिला र प्रशिक्षक तामाङले पहिलोपटक उपाधि जित्न नेपाली टोली सक्षम रहेको बताएका छन् । एन्जिलासँगै आधा दर्जन प्रमुख महिला खेलाडी भारतीय लिगमा लगातार दुई महिनादेखि व्यस्त छन् । स्ट्राइकर सावित्रा भण्डारीले युरोपको फ्रेन्च लिगको माथिल्लो डिभिजनमा अवसर पाउनाले नेपाली टोलीको मनोबल उच्च छ । फ्रान्सबाट सीधै सावित्रा साउदी पुग्नेछिन् । ‘हामी महिला खेलाडी र मेरा लागि यो राम्रो अवसर हो, हामी पुनः एकपटक उपाधि जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दै छौँ,’ कप्तान एन्जिलाले नयाँ पत्रिकासँग भनिन्, ‘हामी ६ जना खेलाडी पछिल्लो दुई महिना भारतीय लिगमा व्यस्त रह्यौँ । टोलीकै महत्वपूर्ण सदस्य सावित्रा पनि फ्रेन्च लिगमा आबद्ध छन् सबै खेलाडीले सँगै अभ्यास गर्न पाएका छैनन् ।’ 

३७ वर्षभित्र १० फाइनल 
०४३ मा नेपाली महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । १४ डिसेम्बर १९८६ मा रमा सिंहको कप्तानीमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल हङकङसँग खेलेको थियो । हङकङ, थाइल्यान्ड र इन्डोनेसिया सम्मिलित खेलमा नेपालले तीन खेलमा १२ गोल सामना गर्‍यो । यस अवधिमा नेपालले १० पटक फाइनल खेल्यो, तर उपाधिविहीन रहँदै आएको छ । पाँच साफ च्याम्पियनसिप, तीनपटक दक्षिण एसियाली खेलकुद (साग), समान एकपटक नादेज्दा कप (किर्गिस्तान) र हिरो गोल्डकप (भारत)को फाइनल खेल नेपालले गुमाएको थियो । सातपटक भारतसँग फाइनलमा पराजित हुँदा साफ च्याम्पियनसिपमा एकपटक बंगलादेशसँग हार्‍यो । यसैगरी, नेपाल हिरो गोल्डकपको फाइनलमा म्यानमार र नादेज्दा कपमा उज्वेकिस्तानविरुद्ध उपाधि भिडन्त नेपालले गुमाएको थियो । 

जोर्डनको चुनौती 
पश्चिम एसियाली फुटबल महासंघले नेपालससहित ग्वामलाई पहिलोपटक आमन्त्रण गरेको हो । पश्चिम एसियाली टोली तुलनात्मक रूपमा कमजोर छन् । नेपालले यसको फाइदा लिन सक्छ । नेपालविरुद्ध पाँचपटकको च्याम्पियन जोर्डन र ग्वाम चुनौती हुन सक्छन् । फिफा वरीयतामा जोर्डन ७४ र ग्वाम ९३ र नेपाल १०५ भन्दा माथि छन् । 

प्रशिक्षक तामाङ विपक्षीको खेल हेर्न नपाए पनि साउदी पुगेपछि त्यसको तयारी गर्ने बताउँछन् । ‘उपाधि जित्ने नै हो । विपक्षी टोलीको केही भिडियो हेरेको छु । धेरै खेलेको हेर्न पाएको छैन, सबै टिमको जानकारी छैन,’ उनले भने, ‘हामीसँग युरोपका खेलेको खेलाडी छ भनेपछि उनीहरूले त्यसैमा ध्यान दिनेछन् । त्यसको फाइदा अन्य खेलाडीले लिनुपर्छ ।’ 

समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल २० फेब्रुअरीमा सिरियासँग खेल्नेछ । सिरिया हाल फिफा वरीयताको ६०औँ वरीयतामा छ । कप्तान एन्जिलाले वरीयताअनुसार खेल नहुने र कुनै पनि टोलीलाई कमजोर नआँक्ने बताउँछिन् । ‘हामीले सबै टोलीसँग पहिलोपटक खेल्दै छौँ । कुनै पनि टोलीलाई कजमोर आँक्न मिल्दैन । स्वाभाविक आफ्नो खेल खेल्दा राम्रो हुनेछ ।’ नेपालले दोस्रो खेलमा इराक र तेस्रो खेलमा प्यालेस्टाइनसँग खेल्ने तालिका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

दुई वर्षदेखि घरेलु लिग ठप्प
एन्फाभित्रको आन्तरिक द्वन्द्व र महिला फुटबल नै योजनामा नरहँदा विगत दुई वर्षदेखि घरेलु लिग हुन सकेको छैन । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले राउन्ड रोबिनको लिग आयोजना गरेका थिए । पहिलो चरणपछि दोस्रो चरणको खेल नै भएन । दोस्रो चरणको खेल हुने समयमा एन्फाको निर्वाचन भयो । निर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले महिला लिगलाई निरन्तरता दिन सकेका छैनन् । केही अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि घरेलु लिग नहुँदा खेलाडी अभ्यासविहीन छन् । तर, भारतीय लिगमा ६ खेलाडी व्यस्त हुनु र सावित्रा फ्रेन्च लिग खेलिरहेकाले नेपाली टोलीको मनोबल उच्च छ । कप्तान एन्जिला र रक्षक गीता रानाले सेथु एफसी, मिडफिल्डरद्वय दीपा शाही र प्रीति राई दुवै किक स्टार्टको अनुभव लिइरहेका छन् । 

दुवैको प्रभावशाली प्रदर्शनसँगै किकस्टार्स दोस्रो स्थानमा छ । रक्षक अमृता जैसी र अट्याकर रश्मिकुमारी घिसिङ स्पोर्टस् उडिसामा अनुबन्ध छन् । सावित्रा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब एन अभान्ट गुइनग्याम्पमा हालै आबद्ध भएकी थिइन् । उनी युरोपमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् । ‘नेपालमा महिला लिग नभएको अवस्था छ । भारतमा खेल्दा आफूहरूलाई सुधार गरेका छौँ । यो नयाँ अनुभव पनि हो,’ कप्तान एन्जिलाले भनिन्, ‘प्रीति, दीपाजस्ता खेलाडी आउनु नेपाली फुटबलका लागि राम्रो हो । भारतीय लिगमा पनि उनीहरूले प्रभाव देखाए । अब, त्यो अनुभव देशका लागि बाँड्छौंँ ।’ 

स्वाभाविक खेल्दा राम्रो नतिजा आउनेछ
एन्जिला तुम्बापो सुब्बा, कप्तान, नेपाल

साउदी अरेबियामा हामी पहिलोपटक सहभागी हुँदै छौँ । फुटबलमा वरीयताअनुसार खेल हुँदैन । हामीले सहभागी राष्ट्रहरूलाई कमजोर आँकेका छैनौँ । यद्यपि, उनीहरुविरुद्ध नेपाल पहिलोपटक भिड्दै छ । स्वाभाविक आफ्नो खेल खेल्दा राम्रो नतिजा आउने विश्वास छ । यसपटक हामीहरूको प्रयास नै उपाधिका साथ घर फर्किने हो ।

नेपाली टोली 
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान),
उषा नाथ, अञ्जना रानामगर
डिफेन्डर : गीता राना, अमृता जैसी, हिराकुमारी भुजेल, बिमला विक, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना,
सबिना चौधरी
मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, बिमला चौधरी, सरस्वती हमाल
स्ट्राइकर : सावित्रा भण्डारी, चन्द्रा भण्डारी, रेखा पौडेल,रश्मिकुमारी घिसिङ, सविता रानामगर
 

ad
ad