१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
घोराही उपमहानगरपालिका–७, राजपुरमा सात बोरा मल ६३ किसानलाई भाग लगाइँदै । तस्बिर सौजन्य : विष्णु चौधरी
२o८१ बैशाख २० बिहीबार १२:१८:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दाङका ६३ किसानलाई सात बोरा मल, तर कृषि मन्त्रालय भन्छ– केन्द्रको गोदाममा ७३ हजार मेट्रिकटन मल मौज्दात

किसानलाई मल पाउनै महाभारत

Read Time : > 4 मिनेट
२o८१ बैशाख २० बिहीबार १२:१८:oo

दाङको घोराही महानगरपालिका–७, राजपुर गाउँमा सात बोरा रासायनिक मल ६३ किसानले बाँडेका छन् । साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत चौतारी सहकारीले किसानलाई बाँडेको मलमा लुछाचुँडी भएको हो । सहकारीका अध्यक्ष गुरुप्रसाद चौधरीका अनुसार राजपुरमा शुक्रबार तीन बोरा डिएपी र चार बोरा युरिया उपलब्ध गराइएको थियो ।

घोराही–७ का वडाध्यक्ष खोपीराम चौधरीले रोपाइँका वेला मल नपाएपछि किसानहरूले सहकारी र वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइरहेको बताए । ‘पानी परेपछि किसानलाई रोपाइँ गर्न हतार भएको छ, मल आएको छैन,’ उनले भने, ‘थोरै मल आउँछ, गाउँमा सबै किसान छन् । त्यही भएर भाग लगाउने गरेका छन् ।’ राजपुरका स्थानीय किसान कृष्ण चौधरीका अनुसार गाउँमा रहेका करिब एक सय ३० घरपरिवार नै खेती गर्छन् । सबैलाई सरदर सात–आठ बोरा मल चाहिन्छ ।  

 १४ गाउँलाई एक सय १९ बोरा मल
सहकारीका अध्यक्ष चौधरीका अनुसार घोराही–७ का १९ गाउँ–टोलका लागि शनिबार एक सय १९ बोरा मल वितरण भएको हो । शनिबार साल्ट ट्रेडिङले सहकारीमार्फत सोही वडाका सबै टोललाई सात–सात बोरा पुग्ने गरी मल दिएको थियो । वडा नम्बर ७ मा ३५ सय बिघाजति खेतीयोग्य जग्गा छ, १७ सय हाराहारी किसान छन् । वडा नम्बर ७ मा १४  गाउँ छन् । प्लास्टिक ओछ्याएर मल वितरण भएको फोटो सार्वजनिक भएपछि सोमबार थप दुई सय बोरा (एक सय डिएपी र एक सय युरिया) मल गाउँ पुगेको छ । ‘धानका लागि डिएपी र युरिया गरी सात हजार बोरा मल चाहिन्छ,’ उनले भने, ‘अहिलेसम्म दुई हजार ६ सय बोरा मात्र आएको छ ।’ प्रतिबोरा डिएपी २५ सय र युरिया एक हजारमा किसानले अनुदानको मल किन्ने गरेका छन् ।

 रोपाइँका लागि मल पर्खंदै कैलालीका किसान
धानको बेर्ना तयार भए पनि कैलाली गोदावरी नगरपालिका–६ का किसान हेमराज अवस्थीले रोपाइँ गर्न पाएका छैनन्, उनी मल कुरेर बसेका छन् । कैलालीमा शनिबार रातिदेखि निरन्तर वर्षा भएपछि किसान रोपाइँमा जुटेका छन््, तर रासायनिक मल नपाउँदा निराश छन् । ‘मल कुर्दा बिउ रोप्ने समयभन्दा १० दिन बढी भइसक्यो । मल पाइएलाजस्तो छैन,’ उनले भने, ‘पानी पर्न थालिसक्यो, अब मल नपाए पनि रोपाइँ सुरु गर्नुपर्ला ।’ मल पाइने आसमा बिउ बिग्रन थालेको उनले बताए । उनले आधा बिघा जमिनमा धान खेती गर्दै आएका छन् ।

मनसुन सक्रिय भएसँगै धनगढीका किसान दुर्जन चौधरी मलको खोजीमा भौँतारिरहेका छन् । ‘पानी पर्न थाल्यो, आजभोलि नै रोपाइँ सुरु गर्नुपर्ने, तर मल पाइएको छैन,’ उनले भने, ‘अहिले मल नहाले उब्जनी हुँदैन । मल पाउन मुस्किल छ ।’ रोपाइँ सुरु हुन थाले पनि कैलालीमा पर्याप्त मात्रामा रासायनिक मल आउन सकेको छैन । रोपाइँका वेला डिएपीको बढी प्रयोग हुने गरे पनि यहाँ युरियाको समेत अभाव छ ।

रोपाइँको सिजनमा आवश्यक मल आइनपुगेको कृषि सामग्री कम्पनी लिमिटेडको धनगढीस्थित कार्यालयले जनाएको छ । मल अभाव भएपछि कार्यालयले केही दिन मल बिक्री बन्द गरेको थियो । केही मात्रामा मल आएपछि गत आइतबारबाट बिक्री सुरु गरिएको कार्यालयले जनाएको छ ।

आइतबारयता साढे तीन सय टन डिएपी आएको कृषि सामग्रीको धनगढी कार्यालय प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । उनका अनुसार गोदाममा अहिले एक सय पाँच टन डिएपी र ७५ टन युरिया छ । ‘केन्द्रले यो लटमा आठ सय ६४ टन डिएपी पठाउने भनेको छ । यसले केही राहत पुग्छ,’ उनले भने, ‘थप मल अर्को खरिदमा आउँछ ।’ 

बर्खे सिजनमा करिब सात हजार टन रासायनिक मल चाहिने भए पनि त्यसको ४०–५० प्रतिशत मात्र आपूर्ति हुने सम्भावना रहेको प्रमुख बोगटीले बताए । केही मात्रामा रासायनिक मल बिक्री गर्दै आएको साल्ट टे«डिङसँग पनि रासायनिक मलको मौज्दात छैन । आवश्यकताअनुसार मल नआएपछि कृषि सामग्रीले सहकारीलाई १५ देखि बढीमा सय क्विन्टलसम्म मात्र मल बिक्री गरिरहेको छ ।

 भारतीय मलको भरमा बाँकेका किसान
सरकारी अनुदानको रासायनिक मल नपाएपछि बाँकेका किसानले भारतमा उत्पादित रासायनिक मल प्रयोग गर्दै आएका छन् । सीमावर्ती भारतीय बजारबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएको नरैनापुर गाउँपालिका–५, मटेहियाका विनय दीक्षितले बताए । ‘सहुलियतको रासायनिक मल नपाएपछि यहाँका किसान भारतीय मल प्रयोग गर्न बाध्य छन्,’ उनले भने, ‘सरकारले समयमै ल्याउन नसक्दा यहाँका किसानलाई भारतीय मल प्रयोग गर्ने बाध्यता छ ।’

बाँकेमा तीन हजार मेट्रिकटन डिएपी माग भए पनि अहिलेसम्म १३ सय ४१ मेट्रिकटन मात्र आएको कृषि बिउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए । त्यस्तै, ६ हजार मेट्रिकटन माग भए पनि अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिकटन युरिया मल आएको छ । मागबमोजिमको मल नआएपछि एउटा गाउँपालिकालाई हजार बोरा डिएपी र १२ सय बोरा युरिया वितरण गरिरहेको उनले जानकारी दिए । ‘खेतीयोग्य जमिनअनुसार पालिकाहरूलाई दामासाहीले रासायनिक मल वितरण गरिरहेका छौँ,’ उनले भने । '

आइतबारसम्म राप्तीसोनारी, बैजनाथ, कोहलपुर र डुडुवा गाउँपालिकामा वितरण भइसकेको बताउँदै उनले ११ असारमा खजुरा, १२ र १३ गते जानकी तथा नेपालगन्ज उपमहानगरपालिकाका कृषकका लागि १४ र १५ असारमा वितरण गर्ने योजना रहेको बताए । दोस्रो चरणको मल केही दिनपछि आउने उनको भनाइ छ । बाँकेको कोटाको ७० प्रतिशत रासायनिक मल आइसकेको बताउँदै कार्यालय प्रमुख पौडेलले अब ३० प्रतिशत आउन बाँकी रहेको स्पष्ट पारे । 

चितवनमा दुई केजी मलका लागि टोल भेला 
मल किन्न नपाएपछि खेती घटाउँदै किसान

१३ वडा रहेको चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ६ मा मलको बिक्री केन्द्र सातवटा छन् । तर, स्थानीय किसानले घन्टौँ लाइनमा बस्दा पनि मल नपाएपछि तुलसीपुर टोल विकास संस्थाले टोल भेला नै गर्नुपर्‍यो । वडाध्यक्ष कमलप्रसाद न्यौपानेकै सल्लाहमा टोल भेलाले नौ कट्ठासम्म जमिन हुनेलाई प्रतिकट्ठा दुई केजी र १० कट्ठाभन्दा बढी जमिन हुनेलाई २० केजी मल वितरण गर्ने निर्णय गर्‍यो । सोहीअनुसार ६ जेठमा स्थानीय सम्झना एग्रो भेटबाट बिहानै युरिया वितरण भयो ।

७९ घरधुरीले सोहीअनुसार मल पाएपछि थप मल खरिद गर्न पाएका छैनन् । खैरहनीका पुरन महतोले भने, ‘व्यावसायिक खेती गर्नेलाई १०–२० केजी मलले के हुन्छ र ? सम्बन्धित ठाउँमा पटक–पटक आवाज राख्दा पनि समस्या उस्तै छ । अचेल कालोबजारीमार्फत आएको मल किन्न बाध्य छु ।’ करिब नौ सय रुपैयाँ बोरामा पाइने युरिया कालोबजारीमार्फत २२ सय र २५ सयमा पाइने डिएपी ३२ सयमा किन्न बाध्य भएको उनले गुनासो गरे । १३ बिघासम्म भाडामा लिएर व्यावसायिक तरकारी खेती गरेका महतोले अहिले चार बिघामा खेती गर्दै आएका छन् । 

चितवनमा धान दिवस मनाउँदै ओली 
१५ असारमा चितवनमा धान दिवस मनाउन एमाले अध्यक्ष केपी ओली आउने भएका छन् । चितवनमा धान दिवस मनाउने जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवनमा धान दिवस मनाउन आउँदै छन् । सरकारले विशेष कार्यक्रम गरेर धान दिवस मनाउने गरे पनि किसानलाई भने १५ असारमा मलकै चिन्ता छ । 

भण्डारमा प्रशस्त मल, रोपाइँमा अभाव
रोपाइँको समयमा देशभरका किसानहरू घन्टौँ लाइनमा बसेर पनि मल नपाएर आक्रोशित छन् । तर, कृषि सामग्री लिमिटेड र साल्ट ट्रेलिङ कर्पोरेसनमा गरी ७३ हजार मेट्रिकटन मल मौज्दात रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सो कम्पनीहरूको गोदाममा युरिया ५९ हजार चार सय ५१ र डिएपी १३ हजार चार सय ९२ मेट्रिकटन मल रहेको विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

रोपाइँको समयमा ६० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी मल चाहिन्छ । तर, सहसचिव मिश्रले मलको अभाव नभएको र केही स्थानीय तहमा आपूर्तिको समस्या मात्रै भएको बताए । उनले भने, ‘पानी परेर बाटो बिग्रेका कारण केही स्थानीय तहमा मल नपुगेको हुन सक्छ, तर देशभर नै मल अभाव हुने अवस्था छैन ।’ हरेक वर्ष किसानले विनामल धान रोप्न बाध्य भए पनि यसपटक मल आपूर्तिलाई सहज पारिने सरकारले दाबी गर्दै आएको छ । 

शुक्रबार पनि संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूको प्रश्नको उत्तर दिँदै विगतका तुलनामा मल आपूर्तिलाई सुदृढ बनाइएको जिकिर गरे । उनले भने, ‘हामीसँग ७३ हजार मेट्रिकटन मल मौज्दात छ, केही अझै आउने क्रममा रहेको छ, मल अभाव हुँदैन ।’

सहसचिव राजेन्द्र मिश्रका अनुसार कृषि सामग्री कम्पनीले २० हजार टन डिएपी मल भारतको विशाखापटनम बन्दरगाहबाट यसै साता ल्याउने बताए । उनले भने, ‘करिब ६ हजार टन मल वीरगन्ज आइसकेको छ, बाँकी १७ हजार यही साता आइपुग्छ ।’ त्यस्तै, २७ हजार टन युरिया र २५ हजार टन डिएपी साल्ट्र ट्रेडिङले २० असारसम्म ल्याइसक्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार जेठदेखि असोजसम्म धान, तरकारी र उखुका लागि युरिया, डिएपी र पोटास गरी दुई लाख ४९ हजार टन मल चाहिन्छ । चालू आर्थिक वर्षमा मल अभाव हुन नदिन अर्थ मन्त्रालयले ३८ अर्ब ५० करोड स्रोत सुनिश्चितता गरेको छ ।

ad
ad