१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्याय माग्दै सडकमा बबिता

Read Time : > 4 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१४:oo

दलित युवकसँग प्रेमविवाह गरेकी बबिता भन्छिन्– जातपातलाई मुद्दा बनाएर हाम्रो भविष्यमाथि खेलबाड भयो । कानुनी रूपमा गरिएको विवाहलाई अपहरण भन्दै मेरो श्रीमान्लाई फसाएर कारागार पठाइएको छ, उहाँलाई केही भए सडकमै प्राण त्याग्छु ।

आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसर न्याय माग्दै सडकमा उत्रिएकी छिन् । दलित युवासँग प्रेमविवाह गरेपछि बबिताका बुबा ललित इसरले उनका श्रीमान् मनोजकुमार रामविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेका थिए । सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार पठाएको छ । श्रीमान्को रिहाइसहित न्याय माग्दै बबिताले सासू सरितादेवी राम र गाउँलेसहित सदरमुकाम राजविराजमा प्रदर्शन गरेकी हुन् । 

तीन वर्षको प्रेमपछि बबिता र सप्तरीकै विष्णुपुर गाउँपालिका– ६ का मनोजले गत २१ जेठमा जिल्ला अदालत कपिलवस्तुमा ‘कोर्ट म्यारिज’ गरेका थिए । त्यसअघि ०७९ कात्तिकमै गरेको प्रेमविवाहलाई उनीहरूले कानुनी मान्यता दिलाएका थिए । तर, ‘पानी पनि नचल्ने केटासँग विवाह गरेको’ भन्दै ललितले छोरी बबिताको फर्जी जन्मदर्ता प्रमाणपत्र बनाउँदै मनोजविरुद्ध अपहरण मुद्दा दायर गरेका थिए । जब कि कपिलवस्तु जिल्ला अदालतले केटा र केटी दुवैको उमेर २१–२१ वर्ष पुगेको भन्दै विवाह गरेको प्रमाणपत्र दिएको थियो । सोही मुद्दाका आधारमा जिल्ला अदालत सप्तरीले मनोज र उनका दाइ रूपेशकुमारलाई कारागार पठाएको छ । रूपेश नेपाल प्रहरीमा कार्यरत छन् ।

राजविराजमा भएको प्रदर्शनमा बबिताले पति मनोजलाई केही भए सडकमै प्राण त्याग्ने चेतावनी दिएकी छिन् । उनीसहितका प्रदर्शनकारीले ‘मनोज र परिवारका सदस्यलाई रिहा गर’, ‘हामीलाई न्याय देऊ, स्वतन्त्रतापूर्वक बाँच्न देऊ’, ‘जातपातलाई मुद्दा बनाएर हाम्रो भविष्यमाथि खेलबाड नगर’लगायत नारा लगाएका थिए । 

‘जातपातलाई मुद्दा बनाएर हाम्रो भविष्यमाथि खेलबाड भइरहेको छ । इच्छाअनुसार नै कानुनी रूपमा गरिएको विवाहलाई अपहरण भनेर मेरा श्रीमान्लाई फसाइएको छ,’ बबिताले भनिन्, ‘मेरा श्रीमान्लाई केही भए सडकमै प्राण त्याग्छु ।’ प्रदर्शनमा सहभागी बबिताका छिमेकी सन्तोष रामले दलित भएकै कारण मनोजलाई फसाइएको भन्दै राज्यले न्याय दिलाउनुपर्ने माग गरे । ‘दलितलाई हेप्ने, जातपातको कुरा गर्ने अपराधीलाई कारबाही हुनुपर्छ,’ उनले भने । प्रदर्शनकारीले नाराबाजीसहित नगर परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालयमा एक घन्टा धर्ना दिएका थिए । 

कथित गैरदलित समुदायकी बबिता र दलित समुदायका मनोजले तीन वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, ‘पानी नचल्ने केटा’सँग विवाह गरेको भन्दै बबिताको परिवारले मनोजको परिवारविरुद्ध मुद्दा दायर गरेको थियो । यसबारे बिहीबारको नयाँ पत्रिकामा ‘कभर स्टोरी’ छापिएको थियो । 

मुद्दा दर्ता गर्नुअघि ललितले वडा कार्यालयबाट बबिताको किर्ते जन्मदर्ता बनाएका थिए । जसमा उनको जन्ममिति २४ वैशाख ०६७ उल्लेख छ । जब कि ‘कोर्ट म्यारिज’ गर्दा मनोज र बबिताले जिल्ला अदालत कपिलवस्तुमा पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा उनको जन्ममिति १६ असोज ०५८ छ । 

बबिताको किर्ते जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन वडासचिव कुशेश्वर यादव भन्छन्– त्यति पुरानो कुरा याद हुँदैन
बबिताका बुबा ललित इसरले जिल्ला प्रहरी कार्यालयमा मनोज रामविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई छोरी बेपत्ता बनाएको मुद्दामा जाहेरी दर्ता गर्नुअघि बबिताको किर्ते जन्मदर्ता बनाएका थिए । जसमा उनको जन्ममिति २४ वैशाख ०६७ उल्लेख छ । उक्त जन्ममितिअनुसार बबिताको उमेर १३ वर्ष मात्रै थियो । सो प्रमाणपत्रमा कृष्णासवरन गाउँपालिका– ४ का तत्कालीन वडासचिव कुशेश्वर यादवको हस्ताक्षर छ । तर, ‘कोर्ट म्यारिज’ गर्दा मनोज र बबिताले जिल्ला अदालत कपिलवस्तुमा पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा बबिताको जन्ममिति १६ असोज ०५८ छ ।

दर्ता मिति र जारी मिति फरक रहेको विषयमा बुझ्दा यादवले त्यस्तो हुन नसक्ने दाबी गरे । तर, पुरानो कुरा याद गर्न नसक्ने पनि बताए । ‘०७५ सालमा ५–६ महिना त्यो वडामा काम गरेको हुँ, त्यति पुरानो कुरा याद हुँदैन,’ उनले भने, ‘दर्ता मिति र जारी मिति फरक–फरक हुनै सक्दैन । सबै कागजपत्र र जन्मदर्ता पनि हेरेपछि मात्रै केही भन्न सकिन्छ ।’ 

आयोगको ध्यानाकर्षण, अधिकारकर्मीको विरोध
गैरदलित युवतीसँग विवाह गरेको नाममा मनोजकुमार रामलाई अपहरण मुद्दा लगाएर कारागार चलान गरिएको विषयमा मधेसी आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोग अध्यक्ष डा. विजयकुमार दत्तले भने, ‘गैरदलित युवतीसँग विवाह गरेकै कारण दलित युवालाई अपहरण मुद्दा लगाई जेल हालिएको विषयप्रति हाम्रो ध्यानाकर्षण भएको छ । घटनाको अनुसन्धान गरेर कारबाही अघि बढाउन गृह मन्त्रालयमा पत्राचार गरिएको छ ।’ नेपाल राउट मेहतर उठान समाजका अध्यक्ष मनोज राउटले मनोजमाथि षड्यन्त्र भएको बताए । ‘अदालतमा विवाह भइसकेको अवस्थामा किर्ते जन्मदर्ताको आधारमा एक दलित युवालाई थुनिएको छ,’ उनले भने, ‘सत्य–तथ्य छानबिन गरेर दोषीमाथि कारबाही होस् ।’ नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव प्रथमलाल रामले गैरदलित युवतीसँग प्रेमविवाह गरेकै कारण मनोज रामलाई अपहरण मुद्दामा फसाउनु गलत भएको बताए । ‘कानुन नै बनाएर नेपालमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको छ, देशलाई छुवाछुतमुक्त घोषणा गरिएको छ, तर जातीय विभेद कायमै रहेको यो घटनाले देखाएको छ,’ उनले भने, ‘सार्वजनिक स्थलमा हुने छुवाछुतमा केही कमी आए पनि विवाह र प्रेम सम्बन्धमा अझैसम्म विभेद कायमै छ ।’

सिराहामा छोराले गैरदलित केटी भगाएपछि आमाको अपहरण 

सिराहाको मिर्चौया नगरपालिका– १ का १९ वर्षीय कमलेश महरा र कर्जन्हा नगरपालिका– १० की १८ वर्षीया नेहा कापरले गत २३ चैतमा भागेर विवाह गरे । तर, छोराले गैरदलितकी छोरी भगाएपछि केटी पक्षले कमलेशकी आमा राजकुमारी महराको अपहरण गरेको थियो । राजकुमारी ३० जेठमा बन्दीपुरस्थित भुल्केचोकबाट अपहरणमा परेकी थिइन् । उनलाई ३१ जेठको राति ८ः३० बजेतिर अपहरणमुक्त गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताए । अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । नेहाकी आमा ललिता कापर, मनोज कापर र सुवेल अन्सारी पक्राउ परेको डिएसपी बस्नेतले बताए । अपहरण घटनामा ललितासहित आठविरुद्ध किटानी जाहेरी दर्ता भएको पनि उनले बताए । डिएसपी बस्नेतका अनुसार राजकुमारी टेम्पोमा आफन्तसित धनुषाबाट आउँदै गरेको थाहा पाएपछि ललितासहित आठजनाको समूहले अपहरण गरेको थियो । खोजतलासका क्रममा एक दिनपछि उनलाई लहानबाटै अपहरणमुक्त गरिएको र ललितालाई त्यहीँबाट नियन्त्रणमा लिइएको डिएसपी बस्नेतले बताए । 

‘तल्लो जात’ले आफ्नो छोरी भगाएको भन्दै केटीका बुबा राजकुमार र आमा ललिताले कुटपिट र मानसिक यातना दिएको अपहरणमुक्त भएकी राजकुमारीको आरोप छ । कमलेश र नेहा भागेलगत्तै पनि केटीपक्षले राजकुमारी र उनका भतिजा २५ वर्षीय रुपेश महरामाथि कुटपिट गरेका थिए । प्रहरीमा जानकारी गराएपछि केही दिन सुरक्षा दिए पनि आक्रमणकारीमाथि कारबाही भएन । कुटाइबाट घाइते भएकाहरू विराटनगरस्थित न्युरो र काठमाडौंको मेडिसिटीमा उपचार गराएर केही दिनअघि मात्र घर फर्किएका छन् । 

प्रेमविवाह असफल भएपछि दुई वर्षअघि सप्तरीमै दलित युवतीले गरेकी थिइन् आत्महत्या 
केटाका परिवारले दलित भएकै कारण प्रेमविवाह अस्वीकार गरेपछि सप्तरीको सुरुंगा नगरपालिका– ७ पोखरियाकी २० वर्षीया दलित युवतीले दुई वर्षअघि आत्महत्या गरेकी थिइन् । प्रेममा रहेकी २० वर्षीया ज्योति पासवानलाई गाउँकै कृष्ण मिश्राले ९ फागुन ०७७ मा घरबाटै भगाएर मन्दिरमा विवाह गरेका थिए । तर, पछि परिवारको दबाबमा केटाले समेत बेवास्ता गर्न थालेपछि ज्योतिले आत्महत्याको बाटो रोजेकी थिइन् । २३ साउन ०७८ मा उनले घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । पीडितका बुबा प्रमोद पासवानका अनुसार ६ असार ०७८ मा ज्योतिलाई लहानस्थित पुष्पाञ्जली गेस्टहाउसमा एक रात सँगै बसेर कोठा खोज्न जान्छु भन्दै कृष्ण फरार भएका थिए । धेरै दिनसम्म कृष्ण नफर्किएपछि ज्योतिले घरमा सम्पर्क गरेकी थिइन् । अभिभावकले प्रहरी र महिला अधिकारकर्मीको सहयोगमा ज्योतिलाई गेस्टहाउसबाट उद्धार गरेका थिए । नियमित तनावमा रहेकी उनले अन्ततः आत्महत्या गरेकी थिइन् । 

ad
ad