१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार o६:२८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीन वर्षको प्रेमपछि अन्तर्जातीय बिहे गरेका दलित युवाविरुद्ध अपहरण मुद्दा : जन्मदर्ता किर्ते गरेर युवतीलाई नाबालिग भनियो, ‘कोर्ट म्यारिज’ गरेका मनोजलाई जेल पठाइयो

Read Time : > 4 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२८:oo

गैरदलित युवतीसँग प्रेमविवाह गरेकै कारण सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमार राम अहिले अपहरण मुद्दामा कारागारमा छन् । उनले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, केटी पक्षले ‘पानी पनि नचल्ने’ केटा भन्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गर्‍यो । त्यसकै आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जब कि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ । 

‘कोर्ट म्यारिज’ गरेपछि कपिलवस्तु जिल्ला अदालतका कर्मचारीबाट  विवाह दर्ताको प्रमाणपत्र बुझ्दै मनोज र बबिता । 

बबिताको परिवारले असहमति जनाएपछि गत वर्ष लक्ष्मीपूजाको चार दिनअघि उनीहरूले स्थानीय मन्दिरमा विवाह गरेका थिए । त्यसलाई कानुनी मान्यता दिन गत २१ जेठमा कपिलवस्तु जिल्ला अदालतमा उनीहरूले ‘कोर्ट म्यारिज’ गरे । दुवैको उमेर २१–२१ वर्ष भएकाले अदालतले बिहेलाई कानुनी मान्यता दिँदै प्रमाणपत्र दियो । तीन वर्ष प्रेम–सम्बन्धमा रहेपछि उनीहरूले विवाह गरेका थिए । तर, ‘कोर्ट म्यारिज’ गरेको दुई दिनपछि २३ जेठमा सप्तरी जिल्ला अदालतले मनोजलाई कारागार चलान गर्न आदेश दियो । 

बबिताका बुबा ललित इसरले जिल्ला प्रहरी कार्यालयमा मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई छोरी बेपत्ता बनाएको मुद्दामा जाहेरी दर्ता गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले मनोजकुमार राम, उनका बुबा जितु, दाजु रूपेशकुमार र सञ्जयकुमारमाथि व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुुरमा सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्‍यो । न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले मनोज र उनका दाजु रूपेशकुमारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

‘कोर्ट म्यारिज’ गरेपछि कपिलवस्तु जिल्ला अदालतबाट प्राप्त विवाह दर्ताको प्रमाणपत्र 

मुद्दा दर्ता गर्नुअघि ललितले वडा कार्यालयबाट बबिताको किर्ते जन्मदर्ता बनाएका थिए । जसमा उनको जन्ममिति २४ वैशाख ०६७ उल्लेख छ । जब कि ‘कोर्ट म्यारिज’ गर्दा मनोज र बबिताले जिल्ला अदालत कपिलवस्तुमा पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा उनको जन्ममिति १६ असोज ०५८ छ । ललितले पछि बनाएको जन्मदर्ता प्रमाणपत्रमा दर्ता मिति २५ पुस ०७५ छ भने जारी मिति २२ पुस ०७२ छ, तर दर्ता नम्बर नै छैन । यसबाट पनि उनले जन्मदर्ता किर्ते गरेको देखिन्छ । जारी गर्ने अधिकारीमा अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ का वडासचिव कुशेश्वर यादवको हस्ताक्षर छ । 

ललितले छोरी बबिताको उमेर १३ वर्ष मात्र रहेको नक्कली जन्मदर्ता बनाएर मनोजविरुद्ध मुद्दा दर्ता गरेका हुन् । उनलाई अपहरण गरेर बलजफ्ती बिहे गरेको दाबी जाहेरीमा गरिएको छ । ललित गाउँका धनाढ्य जमिनदार हुन् । स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वलाई पनि उनले प्रभावमा पारेको स्थानीय बताउँछन् । 

मनोज र बबिताले कोर्ट म्यारिज गर्दा कपिलवस्तु जिल्ला अदालतमा पेस गरेको जन्मदर्ता प्रमाणपत्र, जसमा बबिताको जन्ममिति १६ असोज ०५८ छ । 

सप्तरी प्रहरी प्रवक्ता नरेश सिंहले ललितले जाहेरी दर्ता गर्न आएपछि सुरुमा आफूहरूले दर्ता गर्न नमानेको बताए । पछि उच्च अदालत जनकपुरको राजविराज इजलासबाट परमादेश ल्याएपछि दर्ता गरेको उनको भनाइ छ । ‘बबिता इसरका बुबा ललित इसरले ६ महिनाअघि आफ्नी छोरीलाई मनोज रामले अपहरण गरेको जाहेरी लिएर आएका थिए, हामीले दर्ता गरेनौँ । तर, उच्च अदालत जनकपुर राजविराज इजलासबाट २० माघमा मुद्दा दायर गर्ने आदेश जारी भएपछि हामीले मुद्दा दायर गरेर आवश्यक कारबाही बढाएका हौँ,’ प्रवक्ता सिंहले भने । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले २४ चैतमा मनोज राम, जितु राम, रूपेशकुमार राम, सञ्जयकुमार राममाथि व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुुरमा मुद्दा दायर गरेको उनले बताए । 

अधिकारकर्मी विद्यानन्द रामले उमेर पुगेपछि विवाह कोसँग गर्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको बताए । ‘मानव अधिकारको दृष्टिकोणबाट पनि आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्न पाउने प्रत्येक नागरिकको हक अधिकार हो,’ उनले भने, ‘तर, जातपातका नाममा किन्तु–परन्तु गरी कानुनी विवाह गरिसकेका मनोज राम र बबिता इसरलाई अलग गर्न खोज्ने दुष्प्रयासलाई राज्यले निस्तेज पार्नु जरुरी छ ।’

बबिताका बुबा ललित इसरले मनोजविरुद्ध मुद्दा हाल्दा पेस गरेको जन्मदर्ता प्रमाणपत्र, जसमा बबिताको जन्ममिति २४ वैशाख ०६७ छ, तर दर्ता नम्बर छैन । अचम्म ! दर्ता मिति २५ पुस ०७५ रहेको यो प्रमाणपत्र जारी भने तीन वर्षअघि नै २२ पुस ०७२ मै भएको उल्लेख छ । अझ प्रमाणपत्र छापेको साझा अफसेट प्रेस राजविराजको नामसमेत उल्लेख छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ का एकजना स्थानीयले दलितसँग विवाह गरेकै कारण फसाउन खोजिएको बताए । ‘ललित इसर धनी छन् । उनका तीनजना दाजुभाइको राजविराजमा औषधि पसल छ । दलित केटासँग छोरीले बिहे गरेका कारण आफ्नो प्रतिष्ठाको विषय बनेकाले फसाउन खोजिएको हो,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने । तर, ललित इसरले भने आफ्नी छोरीको अपहरण गरी जबर्जस्ती बिहे गरिएको दाबी गरे । ‘मेरी छोरीलाई अपहरण गरिएको हो । उनी १८ वर्ष पनि पुगेकी छैनन् । यो गलत हो,’ उनले भने ।

‘कोर्ट म्यारिज’ गरेपछि कपिलवस्तु जिल्ला अदालत परिसरमा विवाहको माला लगाउँदै मनोज र बबिता

तर, बबिता भने आफू २१ वर्ष पुगेको बताउँछिन् । अहिले उनी मनोजकै घरमा छिन् । आफ्नो बुबाले केटा दलित भएकैले नक्कली जन्मदर्ता बनाएर नाबालिग बनाउने प्रयास गरेको उनको भनाइ छ ।‘मेरो उमेर २१ वर्ष भएको छ । मैले स्वेच्छाले बिहे गरेकी हुँ । मेरो बुबाले नक्कली जन्मदर्ता बनाएर हामीलाई फसाउन खोजेका छन् । हाम्रो विवाह बदर गर्न षड्यन्त्र गरिरहेका छन्,’ उनले भनिन्, ‘अहिले नक्कली जन्मदर्ता बनाएर मेरा श्रीमान्लाई कारागार पठाइएको छ । हामीलाई न्याय चाहियो ।’ 

मनोजकी आमा सरितादेवी भन्छिन्– गुन्डा पठाएर ज्यान मार्ने धम्की दिइरहेका छन्
छोराले गाउँकै मन्दिरमा विवाह गरी कपिलवस्तु गएपछि बबिताको बुबाले घरमा गुन्डा ल्याएर ज्यान मार्ने धम्की दिन थाले । ‘सबै परिवारलाई मारिदिन्छु’ भन्न थाले । धेरै तनाव दिएपछि मेरा श्रीमान् जितु राम लुकेर बस्नुभएको छ ।

छोराले अर्को जातसँग प्रेमविवाह गरेको छ । के अर्को जातसँग विवाह गर्नु गलत हो ? जालसाजी कागज बनाएर छोराहरू मनोज राम, रूपेश राम, श्रीमान् जितु राम र भतिजा सञ्जय रामलाई फसाइएको छ । बबिताको बुबा धनी छन् रे !

अहिले मेरो दुवै छोरालाई सप्तरी अदालतले कारागार चलान गरेको छ । जेठो छोरा नेपाल प्रहरीमा कार्यरत थियो, उसको यो घटनामा कुनै चासो थिएन । तर, बबिताको बुबाले सबैलाई फसाएका छन् । हामी गरिब मान्छे, सरकारले हामीलाई न्याय देओस् ।

बबिता भन्छिन्– मेरो नक्कली जन्मदर्ता बनाएर मेरै श्रीमान्लाई जेल पठाए, न्याय चाहियो

राजविराजस्थित कुनौली मोडमा ठूलोबुबाको औषधि पसल छ । त्यही पसलमा म पनि साँझतिर बस्ने गर्थेँ । मनोजसँग पसलमा आउँदा–जाँदा चिनजान भएको थियो । मैले उहाँलाई मन पराउन थालेँ । उहाँले पनि मलाई मन पराउन थाल्नुभयो र हामीबीच प्रेम सुरु भयो ।

ठूलोबुबालाई यो कुरा थाहा भएपछि हामीमाथि ज्यादती हुन थाल्यो । उहाँले मेरो मोबाइल फुटाइदिनुभयो । निर्घात कुटेर ६ महिनासम्म घरमै थुन्नुभयो । जेनतेन त्यहाँबाट भाग्न सफल भएपछि मनोजलाई सम्पर्क गरेँ । हामी दुवै पोखरा गयौँ । त्यसवेला मनोजले जातपातको कुरा गर्दा मैले मानिनँ । ‘तिमी ठूलो जातकी हौ, म सानो जातको, तिम्रो परिवारले हाम्रो सम्बन्धलाई कहिल्यै स्वीकार गर्दैन’ भन्नुहुन्थ्यो ।

म ‘मानिस जातले ठूलो हुँदैन, तपाईंसँग प्रेम गरेकी हुँ, अब जीवनमरन तपाईंसँगै हुन्छ’ भन्थेँ । त्यसपछि मनोजको बुबा पोखरा आएर हामीलाई घर ल्याउनुभयो । मलाई बुबाको जिम्मा लगाइदिनुभयो । बुबाले मेरो बिहे भारतमा गर्ने तयारी गर्नुभएको रहेछ, तर मैले मानिनँ, मनोजसँग बिहे भइसकेको बताएँ ।

त्यसपछि बुबा र ठूलोबुबाले यातना दिँदै ‘तिमी दलितसँग बिहे गर्छ्यौ, त्योसँग हाम्रो पानी पनि चल्दैन’ भन्नुभयो । धेरै यातना दिन थालेपछि घरबाट भागेर मनोजलाई भेटेँ । मनोजकै गाउँमा गत वर्ष लक्ष्मीपूजाको चार दिनअघि बिहे गर्‍यौँ ।

त्यसपछि बुबाले मनोजको घरमा गुन्डा पठाएर धम्की दिन थालेपछि कपिलवस्तु गएर चार महिना बस्यौँ । त्यहीँ अदालतमा बिहे गरेका हौँ । मेरो उमेर २१ वर्ष भएको छ । स्वेच्छाले बिहे गरेकी हुँ । बुबाले नक्कली जन्मदर्ता बनाएर फसाउन खोजेका छन् । त्यसकै आधारमा मेरा श्रीमान्लाई कारागार पठाइएको छ । हामीलाई न्याय चाहियो ।

ad
ad