ताप्लेजुङमा पहिरोमा परी बाबुछोराको मृत्यु : अविरल वर्षाले बेपत्ताको खोजीकार्यमा अवरोध

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा परी सोमबार बाबुछोराकाे ज्यान गएको छ । पहिरोमा परी एकजना  घाइते भएका छन् । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार सिदिङ्वा– ६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र केशरका छोरा सुरेरकुमार राईको पनि मृत्यु भएको प्रनाउ लिम्बूले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजान लाग्दा मृत्यु भएको बताइएको छ ।  उता, सोही पहिरोमा परेका राजकुमार राई भने घाइते भएका छन् । उपचारका लागि लैजाने सबै बाटाहरू अवरुद्ध छन् ।  घाइतेलाई उपचारका लागि लैजान समस्या भएको जिल्ला समन्वय समिति सदस्य कला कडरियाले बताइन ।  

गत शनिबार राति गएको पहिरोमा परी बेपत्ता एकाघरका तीनजनाको पत्तो लाग्न सकेको छैन । शनिबार रातिको पहिरोबाट बेपत्ता मेहेले भालुखोपका भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री फेला पर्न सकेको छैनन् । अहिले अविरल पानी परेका कारण खोजीकार्य गर्नसमेत समस्या भएको प्रहरी प्रमुख लिम्बूले बताए ।  पहिरोमा परी बेपत्ता भएकामध्ये मेहेले भालुखोपका गणेश तामाङको शव फेला परिसकेको छ । 

अहिले पनि मेहेलेका विभिन्न क्षेत्रमा पहिरो गइरहेको छ । मेहेलेको निलगिरि मावि रहेको स्थान पहिरोबाट केही सुरक्षित रहेको देखेपछि जोखिम प्रभावित क्षेत्रका मानिसलाई त्यहाँ ल्याउने प्रयास भइरहेको छ ।  
 

See More On

सुझावित समाचार