१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २७ शनिबार
  • Sunday, 11 May, 2025
लन्डन
२o८o जेठ २७ शनिबार o८:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुर्लभ कीर्तिमाननजिक पेप

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८o जेठ २७ शनिबार o८:४९:oo

च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराउँदा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला एकै सिजनमा दुई फरक क्लबलाई तीन उपाधि जिताउने पहिलो प्रशिक्षक बन्ने

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला एक दुर्लभ कीर्तिमाननजिक पुगेका छन् । सिटीले शनिबार राति युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा सिरी ‘ए’ क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दै छ । इन्टर मिलानलाई पराजित गरे, सिटीका प्रशिक्षक एकै सिजनमा दुई फरक क्लबबाट तीन उपाधि जित्ने पहिलो व्यक्ति बन्नेछन् । सिटीले यस सिजनमा इंग्लिस प्रिमियर लिग र एफए कप जितेको छ । अब सिटीको नजर सिजनको तेस्रो तथा युरोकै सबैभन्दा प्रतिष्ठित फुटबल उपाधि च्याम्पियन्स लिगतर्फ रहेको छ । 

प्रशिक्षक पेपले यसअघि बार्सिलोनामा रहँदै तीन उपाधि जितेका थिए । सन् २००९ मा पेप बार्सिलोनका प्रशिक्षक थिए । त्यसवेला बार्सिलोनाले एकै सिजनमा तीन प्रमुख उपाधि हात पारेको थियो । सिटीमा रहँदा पेपले १६ वटा उपाधि हात पारेका छन् । ‘अहिले कीर्तिमानभन्दा पनि सिटीलाई पहिलोपटक युरोपकै नम्बर एक टोलीका रूपमा स्थापित गर्न च्याम्पियन्स लिग उपाधि दिलाउनु नै मेरो मुख्य योजना हो,’ ५२ वर्षीय स्पेनिस नागरिक पेपले भने । 

सिटीले आफ्नो फुटबल इतिहासमा नजितेको उपाधि च्याम्पियन्स लिग मात्रै हो । यसअघि फाइनलमा पुगे पनि सिटी उपविजेतामै सीमित भएको थियो । सिटी र प्रशिक्षक पेपको योजनामा इन्टर मिलान बाधक बन्न सक्छ । इन्टर मिलान एक दशकपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । सिटीले सेमिफाइनलमा सर्वाधिक विजेता स्पेनिस क्लब रियल म्याड्रिडलाई ५–१ ले एकपक्षीय रूपमा पराजित गरेको थियो । इन्टर मिलानले छिमेकी क्लब एसी मिलानलाई हराएको थियो । 

आर्सनल तथा बार्सिलोनाका पूर्वखेलाडी थिएरी हेनरीले फुटबल इतिहासमै पेप महान् प्रशिक्षक बन्ने तर्खरमा लागेको बताएका छन् । ‘मेरो नजरमा पेप अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक बन्न सक्छन्, यदि सिटीले शनिबार राति च्याम्पियन्स लिग उपाधि जित्दा पेपले राखेको कीर्तिमान कसैले पनि तोड्न सक्दैनन्,’ थिएरीले भनेका छन्, ‘खेलाडी पनि इन्टर मिलानविरुद्ध शतप्रतिशत खेल्ने विश्वास छ ।’ सिटीका खेलाडी इकाय गुन्डोगानले पेपलाई एक अद्भुत प्रशिक्षकका रूपमा लिएका छन् । 

उनी भन्छन्, ‘मैले अहिलेसम्म देखेका प्रशिक्षकमध्ये पेप फरक किसिमका छन् ।’ सिटीका खेलाडी उत्कृष्ट फर्ममा छन् । गत साता एफ ‘ए’ कपको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै उपाधि हात पारेको थियो । इन्टर मिलानविरुद्ध सिटीले पहिलो सेटमा फर्ममा रहेका खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नेछ । सिटीलाई समर्थन गर्न शुक्रबार राति नै टर्कीमा हजाराँै समर्थक पुगेका छन् ।