राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गरेकी छिन्। राजदूत क्यापलर आफ्नो साढे पाँचवर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कँदै छिन्।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सदभाव उदाहरणीय रहेको बताएका उनका परराष्ट्रविज्ञ डा. सुरेशचन्द्र चालिसेले जानकारी दिए। सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।
राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेको योगदानको समेत राष्ट्रपति पौडेलले प्रशंसा गरेका थिए।
दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत् रहिआएको छ। नेपालले स्विट्जरल्यान्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्व दिँदै आएको छ।