१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०८० जेठ २५ बिहीबार ०९:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जथाभावी एन्टिबायोटिक सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०८० जेठ २५ बिहीबार ०९:१३:००

जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यसचिव डा. प्रमोद यादवले एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि मधेस प्रदेशका चिकित्सकले जथाभावी एन्टिबायोटिक प्रयोग गर्ने पाइएको बताए । 

युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मीले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न सुझाव दिएका छन् । एन्टिबायोटिक प्रयोगबारे सरकारले स्पष्ट गाइडलाइन दिए पनि अनुगमन र निरीक्षणको अभावमा चिकित्सकले आफूखुसी बिरामीलाई जथाभावी एन्टिबायोटिक सेवन गर्न दिने गरेको बालरोग विशेषज्ञसमेत रहेका यादवले बताए ।

संक्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालले ७५ प्रतिशत सरुवारोग जनावरबाट मानिसमा सर्ने गरेको बताए । विश्वभर ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको भन्दै उनले यसले भविष्यमा ठूलै समस्या निम्त्याउन सक्ने चिन्ता व्यक्त गरे ।

डा. विवेक श्रेष्ठले एन्टिबायोटिक लिनै पर्ने बिरामीले डोजअनुसार औषधि प्रयोग नगर्दा रेसिस्ट भई थप अन्य रोग लाग्दा लामो समय निको नहुनेजस्ता समस्या देखिने गरेको बताए । युएसएडका प्रतिनिधि अर्जुन अधिकारीले जभाभावी एन्टिबायोटिक औषधि सेवन गर्दा मानिसमा दीर्घकालीन असर पर्ने र पछि बिरामी हुँदा सामान्य एन्टिबायोटिकले काम नगर्ने गरेको बताए ।