मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ २४ बुधबार ११:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अलपत्र आयोजना सक्न सरकारको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
२०८० जेठ २४ बुधबार ११:४१:००

 जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकीजस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नुपरेकाले समयमै पूरा गर्न आग्रह गरेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाका अनुसार सभाले समपूरक कोषमार्फत सञ्चालित धेरै आयोजना संघ र प्रदेशको बजेट निकासा नभएर अलपत्र परेको भन्दै पालिकालाई दोहोरो भार पार्ने काम रोक्न माग गरेको छ । त्यस्तै, दक्षिण बागलुङ जाने मालढुंगा कुश्मीसेरा सडकको गलुवा पहिरो नियन्त्रणका लागि बैठकले पहल गरेको छ । राष्ट्रपति शैक्षिक सुधार परियोजनामा निर्माण भएका भवनको रकम निकासा नभएको, काम गर्दागर्दै बेरुजु आउने समस्या समाधानमा पनि समितिले चासो राखेको हो । सोअनुसार काम अगाडि बढाउने निर्णयसमेत गरेको हो । 

पटक–पटक तेलको मूल्य घट्दा पनि सवारीको भाडादर नघटेको, कच्ची सडक हुँदाको भाडादर पक्की बन्दा पनि नघटाइएकोमा सभाले चासो राखेको थियो । सोको कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था कार्यालयमार्फत पहल गर्ने निर्णय गरिएको समन्वय अधिकारी कृष्णराज गौतमले बताए । बैठकमा तमानखोलाको बोङगादोभान बजार र निसीखोला गाउँपालिकाको हुल्दी पहिरो प्रभावित क्षेत्रमा आवश्यक लगानी भित्र्याएर संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत निर्णय गरिएको बताइएको छ । 

बजार क्षेत्रमा देखिने अखाद्य वस्तुको बिक्री वितरणमा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिने, नियमित अनुगमनका लागि पहल गर्ने प्रक्रियासमेत अगाडि बढाउनुपर्ने निर्णय गरिएको हो । जिल्लाभित्रका सरोकार राख्ने विषयमा छलफल गर्नुका साथै बैठकले सबै पालिकालाई तीन दिनभित्र आफ्नो–आफ्नो पालिकाभित्रका अलपत्र योजनाको सूचीकरण गर्न पनि निर्देशन दिएको छ । उक्त निर्देशनअनुसार अलपत्र परेका योजना कति छन्, कता छन्, कति लगानी भयो, कति आवश्यक छ, काम गर्ने ठेकेदारको विवरण र अहिलेसम्म के कति काम सम्पन्न भएको जानकारी माग गरिएको थापाले जानकारी दिए ।