Skip This
शरणार्थीका नाममा ठगी मुद्दा : जाहेरीकर्ता पक्षको बहस सकियो, अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्न माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २४ बुधबार o६:१५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शरणार्थीका नाममा ठगी मुद्दा : जाहेरीकर्ता पक्षको बहस सकियो, अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार o६:१५:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । प्रकरणमा पक्राउ सबै अभियुक्त पुर्पक्षका लागि कारागार चलान गरिनुपर्ने बहसको निचोड छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अभियुक्तविरुद्ध जाहेरीकर्ता पक्षको बहस सकिएको बताए । ‘जाहेरीकर्ता पक्षको बहस सकिएको छ । बहसमा आठ सरकारी वकिल सहभागी थिए । जाहेरीकर्ताको पक्षबाट बहस गर्ने निजी वकिल पनि सहभागी थिए । अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने विषयमा बहसमा सहभागी सबै अधिवक्ता एकमत छन्,’ उनले भने । 

बहसमा सरकारी वकिल पक्षबाट आठ र निजी ६ गरी १४ अधिवक्ता सहभागी थिए । कसुर प्रमाणित हुने पर्याप्त प्रमाण भएको र धरौटीमा रिहा गरिँदा प्रमाण नष्ट गर्न सक्ने जोखिम औँल्याउँदै सबै अभियुक्तलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न बहसमा सहभागी अधिवक्ताको माग थियो । 

सरकारी वकिलको पक्षबाट बहसमा जिल्ला न्यायाधिवक्ता न्यौपानेसहित महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरे सहभागी थिए । त्यस्तै, बहसमा निजीतर्फबाट वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठ, स्वागत नेपाल, राधिका चौलागाईं, हरिप्रसाद कँडेल, सुशील शर्मा सापकोटा र दीपकराज रेग्मी सहभागी थिए । 

बहसमा उत्रिएका अधिवक्ता स्वागत नेपालले नक्कली भुटानी शरणार्थी बनाउने क्रममा संगठित तवरले रकम लेनदेन भएको जिकिर गर्दै नक्कली भुटानी शरणार्थी प्रकरण ‘ह्वाइट कलर क्राइम’ भएको दाबी गरे । बहसका क्रममा नेपालले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र मुख्य बिचौलिया रामशरण केसीबीच धन्दाका क्रममा ४९ पटक कुराकानी भएको दलिल पेस गरे ।

इजलासमा सहभागी जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ध्यानाकर्षण गराउँदै उनले भने, ‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा संगठित तवरले भएका छन् । दुई पक्षबीच रकम लेनदेन भएको पुष्टि भएको देखिन्छ । अडियो र भिडियो प्रमाणले समेत घटनालाई पुष्टि गर्छ । त्यसो हुँदा यो ‘ह्वाइट कलर क्राइम’ हो । घटनामा जोडिएका सबै अभियुक्तलाई थुनामै राखी मुद्दाको पुर्पक्ष हुनुपर्छ ।’

भुटानी शरणार्थीसम्बन्धी मृत प्रस्ताव पुनः ब्युँझाएर संगठित तवरले अपराध गर्ने कार्यमा तत्कालीन गृहमन्त्री खाणको प्रत्यक्ष भूमिका देखिने अधिवक्ता नेपालको जिकिर छ । बहसमा उत्रिएका अर्का वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठले पनि सबै अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने जिकिर गरे । 

बहसका क्रममा उनले भने, ‘नेपाली नागरिकलाई नक्कली कागजातका आधारमा भुटानी शरणार्थी बनाउने जघन्य अपराध हो । यो मुद्दालाई नागरिकले चोकचोकबाट चासोपूर्वक नियालिरहेका छन् । कानुनी छिद्र पहिल्याएर अभियुक्तलाई धरौटीमा रिहा गर्दा उनीहरूकै ज्यान खतरामा पर्छ । ज्यानको सुरक्षाका लागि भए पनि घटनामा पक्राउ सबै अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिनुपर्छ ।’

पक्राउ परेकामध्येका टेकनाथ रिजाल, सानु भण्डारी र केशव दुलालले बयानका क्रममा पोलेका अजयक्रान्ति शाक्य, राजेश बज्राचार्य, नैनकला थापा, आरुजु देउवा, मञ्जु खाण, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बेचन झा, प्रेमकुमार राईविरुद्ध पनि अनुसन्धानका निम्ति अदालतले निर्देशन दिन सक्नुपर्ने बहसमा उत्रिएका अर्का अधिवक्ता हरिप्रसाद कँडेलको जिकिर थियो । ठगी मुद्दाका अन्य कसुरमा पोलेकै आधारमा अभियुक्त पक्राउ पर्छन् । तर, यो केसमा उनीहरू पक्राउ परेनन् । जघन्य अपराधमा जोडिएका उनीहरूविरुद्ध अनुसन्धान गर्न अदालतले आदेश दिने कि नदिने ?’ उनले भने । 

नेपाली नागरिकलाई नक्कली कागजातका आधारमा भुटानी शरणार्थी बनाउने कार्यले मुलुकको अन्तर्राष्ट्रिय छवि र स्वाभिमानमा गम्भीर असर गरेको हुँदा पक्राउ सबै अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिनुपर्ने उनको माग थियो ।