१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० जेठ २३ मंगलबार ०९:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर नगरपालिकाको सय शय्याको आफ्नै अस्पताल 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० जेठ २३ मंगलबार ०९:४७:००

२० मिनेटमै सेवा, १० महिनामा करिब दुई लाख बिरामीको उपचार

भक्तपुर नगरपालिकाले सय शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । देशभरका सात सय ५३ स्थानीय सरकारमध्ये सय शय्याको अस्पताल सञ्चालन गर्ने भक्तपुर पहिलो स्थानीय सरकार बनेको छ । 

नगरपालिकाले स्वास्थ्य सेवासमेत न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ । ‘स्ट्यान्डर्ड बेडको एक सय रुपैयाँ शुल्क लिन्छौँ,’ नगर मेयर सुनील प्रजापतिले भने, ‘अधिकांश नगरवासीले बिमा गरेका छन् । त्यही बिमाले कभरेज हुने भएकाले सेवा निःशुल्कजस्तै छ ।’ यस्तै, गरिब र विपन्नले उपचार गर्न नसक्ने अवस्था प्रमाणित गरे सबै स्वास्थ्य सेवा निःशुल्क हुने उनको भनाइ छ । नगरवासीलाई २० मिनेटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार काम भइरहेको उनले बताए ।

‘हामीले नगरभित्र २० मिनेटमा स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरेका छौँ । कुनै पनि नागरिकले २० मिनेटभित्र स्वास्थ्य सेवा पाउनुपर्छ भनेर प्रत्येक दिन घर–घरमा नर्स पुग्छन् । वडाका स्वास्थ्य केन्द्रमा डाक्टरसहितको सेवा उपलब्ध छ । ख्वपः अस्पतालमार्फत यी सबै सेवा उपलब्ध हुन्छन् । वडाका डाक्टरसम्म पुगे १०–१५ मिनेटमै पनि सेवा पाइन्छ,’ उनले भने । ख्वपः अस्पतालबाट दैनिक साढे सात सयजनाले सेवा लिइरहेका छन् । चालू आवको १० महिनामा मात्रै यहाँबाट एक लाख ७९ हजार जनाले सेवा लिइसकेका छन् । नगरपालिकाअन्तर्गत ख्वपः अस्पतालसहित श्वासप्रश्वास पुनस्र्थापना केन्द्र, जनस्वास्थ्य सेवा केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य उपचार केन्द्र पनि सञ्चालनमा छन् । यसअघिको २५ शय्याको जनस्वास्थ्य केन्द्रलाई नगरपालिकाले सय शय्यामा स्तरोन्नति गरेको हो ।

अस्पतालमा एक सय ७३ स्वास्थ्यकर्मी तथा कर्मचारी
अस्पतालमा हाल २१ जना विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, ४७ जना स्टाफ नर्ससहित एक सय ७३ जना कर्मचारी कार्यरत छन् । अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत गरी दैनिक ११ घन्टा ओपिडी सेवा दिइरहेको छ । नगरवासीका लागि निःशुल्क अक्सिजन सेवा उपलब्ध छ । चालू आवको १० महिनामा नौ हजार आठ सय ५५ सिलिन्डर ग्यास नगरपालिकाले निःशुल्क वितरण गरेको छ भने हालसम्म करिब चार सयजनालाई निःशुल्क रगत प्रदान गरेको जनाएको छ ।

ख्वप: अस्पतालमा सबै सेवा उपलब्ध 
अस्पतालमा स्त्रीरोग, बालरोग, छाला, नाक–कान–घाँटी, दन्त, आँखा, हाडजोर्नी, छाती, मुटु, नसा, प्रसूति, मानसिक रोगलगायत रोगहरूको विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । गत ७ माघदेखि जटिल शल्यक्रिया र १७ वैशाखबाट प्रसूति सेवा पनि सुरु भएको छ । वडा–वडामा घरदैलो नर्सिङ सेवालाई प्रभावकारी बनाउन सम्बन्धित वडामा नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने गरी नर्सहरूलाई समेत नगरपालिकाले परिचालन गर्दै आएको छ । 

जनस्वास्थ्य केन्द्र अस्पतालमा रूपान्तरण
स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले स्थानीय तहलाई आधारभूत स्वास्थ्य र सरसफाइको अधिकारअन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ तथा पोषणसम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन तथा नियमन, आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन, अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन, स्वास्थ्य सेवासम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनको एकल अधिकार दिएको छ । नगरपालिकाले भने यसै वर्षदेखि सय शय्याको अस्पताल सुरु गरेको हो । सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाउन भने निकै कष्ट भएको मेयर प्रजापतिले बताए ।

‘०७३ सालमै २५ शय्याको अस्पतालको स्वीकृति जिल्ला जनस्वास्थ्य केन्द्रले दिने व्यवस्था थियो । सोहीअनुसार जनस्वास्थ्य सेवा केन्द्र चलाइरहेका थियौँ । तर, अस्पताल भनेर सञ्चालन हुन सकिरहेको थिएन । कोरोनाका वेला धेरै मानिस केन्द्र आउन थालेका थिए । हामीले थोग्न सकेका थिएनौँ । १७ वैशाख ०७८ मा जनस्वास्थ्य केन्द्रलाई ख्वपः अस्पताल भनेर नामकरण र नियमावली बनायौँ । दैनिक पाँचदेखि ६ सय बिरामी आउन थाले । चाप बढ्यो,’ अस्पताल सञ्चालनबारे मेयर प्रजापतिले भने, ‘हामीले नर्सिङ कलेज पनि चलाइरहेका थियौँ ।

त्यही वला सय शय्याको आफ्नै अस्पताल नभएका नर्सिङ कलेज बन्द गर्ने सरकारले निर्णय गर्‍यो । त्यसपछि केन्द्र सरकार र प्रदेश सरकार धेरैतिर धायौँ । हामीसँग पूर्वाधार, जनशक्ति सबै भए पनि केन्द्र र प्रदेश सरकारले स्वीकृति दिन आनाकानी गर्‍यो । तर, हामीले पहल गर्न छाडेनौँ । अन्ततः एक सय शय्याको अस्पताल चलाउन स्वीकृति पाएका छौँ ।’ नगरपालिकाले २३ जेठ ०७९ मा बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट अस्पताल सञ्चालन अनुमति पाएको थियो ।