
भारतबाट प्रतिबन्धित सुर्तीजन्य पदार्थ भारतबाट तस्करी गरेर ल्याउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका– ५ बाट अवैध सुर्तीजन्य पदार्थ रजनीगन्धा र तुलसी तस्करी गरेर ल्याएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो।
शनिबार भारतीय बजार जोगबानीबाट आठ हजार ६ सय ९४ पिस रजनीगन्धा र सात हजार तीन सय ४४ पिस तुलसी विराटनगरतर्फ तस्करी गरेर ल्याउँदै गर्दा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर–५ चाँदनीचोकबाट पक्राउ गरेको हो । उनीहरूले चाँदनीचाेकमा रहेको जय गणेश जनरल स्टोरका लागि अवैध रूपमा रजनीगन्धा र तुलसी ल्याउने गरेका थिए।
सुर्तीजन्य पदार्थ तस्करी आरोपमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ६ सुनसरीका २६ वर्षीय दीपककुमार साह, २६ वर्षीय गुरुदेव साह र विराटनगर– ५ का ४२ वर्षीय अरुण यादवलाई सामान र उनीहरूले प्रयोग गर्ने को. १३ प ५०८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका सबैजनालाई अवैध रजनीगन्धा र तुलसीसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ। विराटनगर महानगरपालिकामा सुर्ती र सुर्तीजन्य पदार्थ खुला रूरुपमा बिक्री–वितरण गर्न प्रतिबन्ध छ।