मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० जेठ २१ आइतबार ०६:०२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालबालिकामा बढ्दै छ ‘मायोपिया’को समस्या 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० जेठ २१ आइतबार ०६:०२:००

विद्यालय जाने बालबालिकामा टाढाको नदेख्ने, अर्थात् बोर्डमा लेखेको नदेख्ने र साथीबाट सार्नेजस्ता लक्षण देखिन थालेपछि अस्पताल धाउने गर्छन्

सल्यानका सात वर्षीय बालक आँखा टेढोको समस्या लिएर गत चैत अन्तिम साता काठमाडौंको तिलगंगा आँखा अस्पताल पुगे । टाढाको वस्तु नदेख्ने, देखे पनि धमिलो देख्ने समस्या भएपछि जिल्ला अस्पताल जाँदा उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । 

परीक्षणका क्रममा उनलाई मायोपियाको समस्या बल्झिँदै जाँदा आँखा टेढो हुने समस्या भएको पत्ता लाग्यो । लामो समयको उपचारपछि उनको आँखाको दृष्टि सामान्य अवस्थामा फर्किरहेको र नियमित औषधि खाइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

कक्षाकोठामा बोर्डमा लेखेको नदेख्ने र पढाइमा कमजोर बन्दै गएको भन्दै विद्यालयबाट गुनासो आएपछि गत साता काठमाडौंको बालाजुका चार कक्षाका बालकलाई अभिभावकले तिलगंगा आँखा अस्पताल पुर्‍याए । बालाजुकै एक विद्यालयमा पढिरहेका उनी घरमा बस्दा, पढ्दा समस्या भएको गुनासो गर्दैनथे ।

तर, विद्यालयबाट बारम्बार गुनासो आउन थालेपछि अभिभावकले उनलाई तिलगंगा अस्पताल पुर्‍याएका थिए । चेकजाँचपश्चात् उनमा मायोपियाको समस्या भएको चिकित्सकले थाहा पाए । उनी अधिकांश समय कोठामा बिताउँथे भने पढाइबाहेकको खाली समय मोबाइल हेरेर बिताउने गरेका थिए । उनको उपचारमा संलग्न तिलगंगा अस्पतालकी आँखारोग विशेषज्ञ डा. सिर्जना अधिकारीका अनुसार हाल दृष्टिमा सुधार आइरहेको छ ।

‘मायोपियाको समस्यामा बढीमा १० प्रतिशत मात्रै गम्भीर अथवा दृष्टिविहीन हुने अवस्था हुन्छ । यसबाहेक अधिकांशमा टाढाको वस्तु नदेख्ने र समयमा उपचार नगराउँदा जटिलता बढ्ने हो । अहिले स्कुले विद्यार्थीमा यो समस्या अत्यधिक बढेको छ,’ डा. अधिकारी भन्छिन् ।

मायोपिया अर्थात् टाढाको वस्तु धमिलो देख्ने समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दो छ । डा. अधिकारी विद्यालय जाने बालबालिकामा टाढाको नदेख्ने, अर्थात् बोर्डमा लेखेको नदेख्ने र साथीबाट सार्नेजस्ता लक्षण देखिन थालेपछि अस्पताल आउने गरेको बताउँछिन् । त्यसमा पनि सहरी क्षेत्रका बालबालिका बढी छन् । ‘स्कुल मायोपिया अर्थात् स्कुल पढ्ने उमेरमा देखिने यो समस्या प्रारम्भिक रूपमा देखिन्छ । तर, कतिपयमा प्याथोलोजिकल र वंशाणुगत मायोपिया पनि देखिन्छ, जुन केही प्रतिशतमा मात्रै देखिने भए पनि दृष्टिमा असर पार्ने खालको हुन्छ । तर, झन्डै ८० देखि ९० प्रतिशतमा भने स्कुल मायोपिया हुन्छ, जुन सुरुवाती चरणमै पत्ता लाग्ने भएकाले उपचारको पहुँचसमेत बढी छ,’ उनले भनिन् ।

नेपालमा मायोपियाको समस्या तीनदेखि २५ प्रतिशतसम्म 
नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार सोलुखुम्बुका गाउँमा बस्ने बालबालिकामा मायोपियाको समस्या २.९ प्रतिशत हुँदा काठमाडौंमा बस्ने तिब्बतियन मूलका बालबालिकामा २१.७ प्रतिशत देखिएको छ । कोभिड– १९ महामारीपश्चात् यो दर निकै बढेको चिकित्सक बताउँछन् । किनकि नेपालमा कोभिड– १९ पश्चात् बालबालिका भर्चुअल कक्षामा अझ बढी अभ्यस्त भइरहेका छन् । 

मायोपियाको समस्या विश्वव्यापी चुनौतीका रूपमा देखिएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वमा हाल करिब दुई अर्ब ६० करोड मानिस मायोपियाबाट पीडित भइरहेका छन् । र, सन् २०५० सम्म यो संख्या बढेर पाँच अर्ब हुने अनुमान गरिएको छ । जसमध्ये करिब १० प्रतिशत व्यक्तिमा गम्भीर मायोपिया अर्थात् दृष्टिविहीन हुन सक्ने उच्च जोखिममा रहेको देखाएको हो । 

सहरी जीवनशैली र डिजिटलको उच्च प्रयोगले बढाउँछ मायोपिया
डिजिटल उपकरणको अत्यधिक प्रयोग र अधिकांश समय घरभित्र व्यतीत हुन थालेसँगै मायोपियाको जोखिम बढ्न थालेको चिकित्सक बताउँछन् । आँखाको दृष्टि नजिकको वस्तु मात्रै हेर्ने वातावरणमा अभ्यस्त हुन थालेसँगै मायोपियाको समस्या जोखिमका रूपमा देखिन थालेको हो । 

खासगरी विद्यालयबाट फर्केपछि चारदेखि पाँच घन्टासम्म कोठाभित्र बसेर गृहकार्य गर्न लगाउने, कोठाभित्रै खेल्ने, विद्यालयमा पनि अधिकांश समय कक्षाकोठामा बिताउने र खाली समयमा डिजिटल उपकरण (कम्प्युटर, मोबाइल तथा भिडियो गेम) प्रयोग गर्दा आँखाको नजिक राखेर गर्ने भएकाले बालबालिकामा मायोपियाको समस्या अत्यधिक बढिरहेको विराट आँखा अस्पतालका चिकित्सक डा. पवन श्रेष्ठ बताउँछन् ।

त्यसबाहेक मायोपियाको समस्या रहेका आमा–बुबाबाट जन्मिएका सन्तानमा यसको जोखिम रहन्छ । डा. श्रेष्ठका अनुसार मायोपिया भएका व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्छन् । सामान्य आँखाले कुनै वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तुमा हाम्रो आँखाको दृष्टि (रेटिना)मा आएर फोकस हुने गर्छ । तर, मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि रेटिनाभन्दा अगाडिको भागमा फोकस भएकाले दृष्टि धमिलो हुने गर्छ । 

‘मायोपियाबाट बच्न बच्चालाई मोबाइलको पहुँचबाट जोगाउने, दैनिक कम्तीमा दुई घन्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय–समयमा नियमित रूपमा आँखा जाँच गराउनुपर्ने हुन्छ,’ उनले भने । यसबारे अभिभावकले समयमै ख्याल नगरेमा बालबालिकाको दृृष्टिमा समस्या देखिएर युवा उमेरमै दृष्टिविहीन हुने जोखिम बढाएको डा. श्रेष्ठले बताए ।

डा. सिर्जना अधिकारी, आँखा रोग विशेषज्ञ, तिलगंगा अस्पताल
मायोपियाको समस्यामा बढीमा १० प्रतिशत मात्रै गम्भीर अथवा दृष्टिविहीन हुने अवस्था हुन्छ । यसबाहेक अधिकांशमा टाढाको वस्तु नदेख्ने र समयमा उपचार नगराउँदा जटिलता बढ्ने हो । अहिले स्कुले विद्यार्थीमा यो समस्या अत्यधिक बढेको छ ।

स्कुल मायोपिया अर्थात् स्कुल पढ्ने उमेरमा देखिने यो समस्या प्रारम्भिक रूपमा देखिन्छ । तर, कतिपयमा प्याथोलोजिकल र वंशाणुगत मायोपिया पनि देखिन्छ, जुन केही प्रतिशतमा मात्रै देखिने भए पनि दृष्टिमा असर पार्ने खालको हुन्छ । तर, झन्डै ८० देखि ९० प्रतिशतमा भने स्कुल मायोपिया हुन्छ, जुन सुरुवाती चरणमै पत्ता लाग्ने भएकाले उपचारको पहुँचसमेत बढी छ ।