बयानमा नाम आएकाको प्रहरीले थप प्रमाण खोजिरहेको छ : गृहमन्त्री श्रेष्ठ

शुक्रबार, १२ जेठ, २०८०
डिजिटल संस्करण
बयानमा नाम आएकाको प्रहरीले थप प्रमाण खोजिरहेको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिहीबार नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै । तस्बिर/रासस

गृहमन्त्री श्रेष्ठ भन्छन्- कसैले नाम लिएकै आधारमा मात्र मुद्दा चलाउन मिल्दैन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा बयानमा नाम आएकाहरूको हकमा प्रहरीले थप तथ्य र प्रमाण खोजिरहेको बताएका छन् । कसैले नाम लिएकै आधारमा मात्र मुद्दा चलाउन नमिल्ने उनको भनाइ छ । 

बिहीबार नेकपा (एमाले)निकट युवा संघका पदाधिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै यो मुद्दामा निर्दाेष कोही नपर्ने र दोषी कोही नउम्कने गरी प्रहरीले अनुसन्धान गरिरहेको श्रेष्ठले बताए ।

‘प्रहरीले थप व्यक्तिमाथिको अनुसन्धानलाई खुला राखेको छ । अनुसन्धानमा अन्यत्र जस्तै स्वाभाविक रूपमा प्रहरीले बयानलाई आधारित बनाएको छ । अर्काेतर्फ बयानलाई मेलखाने अन्य तथ्य–प्रमाण खोजेर अगाडि बढाउन खोजिएको छ,’ उनले भने, ‘थुप्रै व्यक्तिको नाम आएको छ, तर एउटाले बयानमा नाम लिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा होला प्रहरी भनेर हामीले बुझ्नुपर्छ ।’

अदालती कारबाही आजदेखि 
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार दायर भएको मुद्दामा शुक्रबारदेखि अदालती कारबाही सुरु हुँदै छ । ३० प्रतिवादीमध्ये १६ पक्राउ परेकाले उनीहरूको बयान सुरु हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ । बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने कि छाड्ने भन्नेमा आदेश हुनेछ । यो प्रक्रिया सकिन एक साताभन्दा लामो समय लाग्ने अदालतका कर्मचारी बताउँछन् । 

सुझावित समाचार