
राजविराज नगरपालिकाद्वारा सञ्चालित आयोजनाको छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली राजविराज आइपुगेको छ।
पालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि आयोगको इटहरीस्थित कार्यालयको टोली स्थलगत निरीक्षणका साथै छानबिनका लागि आएको हो।
अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले आइतबार प्राविधिकसहितको ३ सदस्यीय टोलीले राजविराजका विभिन्न योजनाको स्थलगत अनुसन्धान सुरु गरेको हो।
‘राजविराज नगरपालिकाले निर्माण गरेका सडक, कबर्ड हललगायतका काममा अनियमितता भएको उजुरी आएपछि हाम्रो टोली त्यहाँको स्थलगत अनुगमनमा गएको हो,’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका इटहरीस्थित कार्यालयको प्रवक्ता नीरज देवले नियमित अनुगमनको क्रममा टोली सप्तरीको गएको बताए। उनका अनुसार टोलीले सोमबार पनि स्थलगत अनुसन्धानलाई निरन्तरता दिनेछ।
आयोगका लेखा अधिकृत दयाराम काफ्ले नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत प्राविधिक तथा सम्बद्ध फाँटका अन्य कर्मचारीसँग फायल झिकाई आवश्यक जानकारी लिएको जनाएको छ।
टोली प्रमुख काफ्लेले नियमित प्रक्रियाअनुसार नगरपालिकाको कार्यालय पुगेर विकास निर्माणसम्बन्धी फायलहरूको अध्ययन गर्नुका साथै नगरपालिकाद्वारा सञ्चालित विकासीय योजनाहरूको अध्ययन पनि गरेको बताए। उनले थप कुरा अनुसन्धान सकिएपछि मात्र भन्न मिल्ने जिकिर गरे।