मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २ मंगलबार ०८:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फ्रान्स लैजाने प्रलोभनमा १५ जनाबाट साढे दुई करोड उठाएका ठकुरी फरार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २ मंगलबार ०८:२७:००

पीडितहरूलाई पहिलोपटक १२ फागुन ०७८ तथा दोस्रोपटक १३ जेठ ०७९ मा फ्रान्स पठाउने भनेर विमानस्थल लगियो, तर भिसालगायत विवरण नक्कली देखिएपछि फिर्ता गराइयो

कपिल शाही ठकुरी

रोजगारीका लागि फ्रान्स लैजाने प्रलोभनमा १५ जनाबाट साढे दुई करोड उठाएका एक युवक फरार भएका छन् । कैलालीको घोडाघडी घर भएका कपिल शाही ठकुरीले नक्कली भिसालगायत कागजपत्र देखाएर ठगी गरेका हुन् ।

ठकुरी दुई महिनादेखि बेपत्ता भएपछि ऋण खोजेर पैसा बुझाएका पीडित बिचल्लीमा परेका छन् । उनीहरूले प्रहरी र वैदेशिक रोजगार विभाग धाएर कारबाहीको माग गरेका छन् ।

पीडितका अनुसार पानीजहाजमा काम लगाइदिने भन्दै शाहीले ठगी गरेका हुन् । फेसबुकमार्फत विज्ञापन गरी उनले पैसा उठाएका थिए । पीडितमध्ये एक कञ्चनपुरका राजेन्द्रप्रसाद चन्दका अनुसार करिब दुई वर्षअघि उनले फेसबुकमा लिथोनिया पठाइदिने भन्दै विज्ञापन गरेका थिए । ‘सुरुमा लिथोनिया पठाउने प्रलोभन दिए, पछि फ्रान्समा पठाइदिने भनेर पैसा लिए,’ चन्दले भने, ‘दुईपटकसम्म विमानस्थल पुगेर फर्कियौँ ।’

राजेन्द्रप्रसाद चन्द, पीडित
सुरुमा लिथोनिया पठाउने प्रलोभन दिए, पछि फ्रान्समा पठाइदिने भनेर पैसा लिए । दुईपटकसम्म विमानस्थल पुगेर फर्कियौँ ।

कागजपत्र नै नक्कली भएको खुलेपछि विमानस्थलबाटै उनीहरूलाई फिर्ता पठाइएको थियो । चन्दले मात्र ठकुरीलाई ११ लाख रुपैयाँ बुझाएका छन् । बैंक खातामै आफूले पैसा हालिदिएको उनले बताए । विदेश पठाउन ढिला भएपछि उनको बुबा देवराज शाहीलाई पनि खबर गरेको उनका बुबाले छोराले भनेअनुसार काम नगरेपछि त्यसको जिम्मेवारी आफूले लिने बताएको उनको भनाइ छ । तर, अहिले देवराज पनि पन्छिएका छन् । 

ऋण खोजेर बुझाएको पैसा डुब्दा आफूहरू बिचल्लीमा परेको चन्द बताउँछन् । राजेन्द्र र कपिलबीच सेनाको भर्नासम्बन्धी तयारी कक्षामा चिनजान भएको थियो । नेपाली सेनामा असफल भए पनि फ्रान्स पठाइदिने र त्यहाँ गएर आर्मीमा भिड्न सकिने प्रलोभन उनीहरूलाई दिइएको थियो । 

त्यस्तै, बागुङका तारा घर्तीमगरको १३ लाख रुपैयाँ ठगी भएको छ । उनी फेसबुककै विज्ञापनबाट उनको सम्पर्कमा पुगेका थिए । ‘भिसा नै नक्कली बनाएर ठगी गरेको रहेछ,’ उनी भन्छन्, ‘अनुसन्धान गर्नका लागि वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छु ।’ ठकुरीले अन्य व्यक्तिलाई पनि आफूहरूलाई जस्तै ठग्न खोजेको र आफूले संकेत पाएपछि उनीहरूलाई सतर्क गराएको मगर बताउँछन् । त्यस्तै, प्रवीण थापा, प्रवीण बिसी, मदन ढुंंगाना, रिजन लामा, रमेश शाही ठकुरी, राजेश चौधरी, मेहन्त चन्द, कवीन्द्र अधिकारीलगायत ठगिएका हुन् । 

पीडितहरूलाई पहिलोपटक १२ फागुन ०७८ तथा दोस्रोपटक १३ जेठ ०७९ मा फ्रान्स पठाउने भनेर विमानस्थल लगिएको थियो । तर, भिसालगायत विवरण नक्कली भएको भन्दै उनीहरूलाई फिर्ता गरिएको थियो । त्यसपछि पनि आफूलाई अन्तिमपटक अवसर दिन भन्दै उनले पीडितहरूलाई फकाएका थिए । तर, पछिल्लो दुई महिनायता सम्पर्कविहीन भएका हुन् । उनका बुबाले पनि छोराको जिम्मा लिन नसक्ने बताएको पीडितको दुखेसो छ । 

फ्रान्सको एलजी पानीजहाज मेनेजमेन्ट कम्पनीको नाममा नक्कली पत्र बनाएका थिए । साथै, पानीजहाजमा काम गर्दाको नक्कली परिचयपत्र पनि देखाइएको थियो । सुरुमा टर्की लैजाने र त्यहाँबाट पानीजहाजमै फ्रान्स जाने बताइएको थियो । दोस्रोपटक भने अनडोरा देशको नक्कली भिसामा पठाउने प्रयास भएको पीडित मगरले बताए । ठकुरीले एयरपोर्ट विमानस्थलमा कार्यरत एक अध्यागमनका कर्मचारीलाई समेत भेटाएर आफ्नो भिनाजु भन्दै चिनाएर विमानस्थलमा सेटिङ मिलाइसकेको बताएका थिए । 

आसामका कोठीमा नेपाली युवतीको तस्करी 

अभियुक्त एलिना खत्री

नेपाली युवतीहरूलाई भारतको आसाम राज्यमा सञ्चालित कोठीमा लगेर बिक्री हुने गरेको खुलेको छ । आसामको कछर जिल्लाको सिल्चर भन्ने ठाउँमा लगेर नेपाली युवतीलाई बिक्री गर्ने एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

म्याग्दीको रघुगंगा गाउँपालिकाकी ३० वर्षीया एलिना खत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार एक पीडितलाई गत वर्ष २४ कात्तिकमा नुवाकोटबाट काठमाडौं लैजाने भन्दै आसाम लगिएको थियो । खानेकुरामा बेहोस हुने औषधि मिसाएर बेहोस बनाई आसाम पुर्‍याइएको पीडितले बताएकी छिन् । माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा पीडित किशोरीको हालै उद्धार भएको थियो । नेपाल आएपछि पीडितले प्रहरीमा उजुरी दिएकी हुन् । 

मानव तस्करी प्रकरणमा भारतीय नागरिकसहित ६ जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनीहरूले धेरै नेपाली युवतीलाई त्यहाँ पुर्‍याएको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी एलिनामाथि यसअघि पनि मानव बेचबिखन मुद्दा दायर भइसकेको छ । गत पुसमा उनी झापामा पक्राउ परेकोमा अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन् । उनका श्रीमान् भारतीय नागरिक अजित साह पनि मानव बेचबिखन मुद्दामै झापाको कारागारमा छन् ।