
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनाेटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका– ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन्। ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ,’ उनले भने, ‘विनागुरुयोजना पहुँच हुनेले योजना लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ। पक्षपातरहित ढंगले विकासको समानुपातिक वितरण आवश्यक छ।’
अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै सबै भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनाेटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले विनापक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए।